Premier Cables
Premier Steel

कोशी प्रदेश समाचार

समयअघि नै मनसुन आयो, तर वर्षा रोकिँदा रोपाइँ भएन

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार २७, २०८२  | अपराह्न १२:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेशमा यस वर्ष मनसुन निर्धारित समयभन्दा दुई साताअघि जेठ १५ गते नै भित्रिएको थियो। सुरुमा केही दिन मुसलधारे वर्षा पनि भयो। तर त्यसपछि मनसुनी वायु पश्चिमतर्फ सरेपछि पूर्वी क्षेत्रमा पानी पर्न छाड्यो। पश्चिम नेपालमा बाढी र पहिरोको समस्या देखिए पनि कोसी प्रदेशका धेरै जिल्लामा खडेरीले संकट निम्त्याएको छ।

समयमै वर्षा नहुँदा झापाजस्ता प्रमुख धान उत्पादक जिल्लामा समेत रोपाइँ प्रभावित भएको छ। मोरङका पूर्वी र दक्षिणी भेगमा समेत पर्याप्त मात्रामा रोपाइँ हुन सकेको छैन । झापाको मेचीनगर–१५ का किसान गोविन्द घिमिरे भन्छन्, “पानी पर्छ भनेर पर्खिरहेकै छौं, तर गरा सुक्खा छ, कमिला कुदिरहेका छन्।” उनले दुई बिघा खेतमा अझै धान रोप्न पाएका छैनन्।

बिज्ञापन

अर्जुनधारा नगरपालिका–८ का किसान श्याम अधिकारीले वार्षिक ठेक्कामा लिएको खेतमा रोपाइँ हुन नसक्दा ५० हजार रुपैयाँ ठेक्का शुल्क कसरी तिर्ने भन्ने चिन्ता व्यक्त गरेका छन्।

झापामा अधिकांश खेती अकासे पानीमा निर्भर छ। कुलो र बोरिङ सिँचाइको पर्याप्त व्यवस्था नहुँदा किसानले वर्षामा मात्रै भर पर्नुपरेको छ। कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार हालसम्म जिल्लामा जम्मा २१ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ। “जति रोपाइँ भएको छ, त्यो पनि कुलो र भूमिगत सिँचाइ भएको क्षेत्रमै सम्भव भएको हो,” उनले बताए।

झापामा ९८ हजार ७१६ हेक्टर खेतीयोग्य जमिन रहेको छ। तीमध्ये ७५ हजार ५५९ हेक्टरमा धान खेती हुने गर्दछ। छिटो पाक्ने अगुवा धान असारभित्रै रोप्नुपर्ने हुन्छ, तर वर्षा नहुँदा समयमै रोपाइँ हुन सकेको छैन।

जिल्लामा कनकाई, निन्दा, टाङटिङ, पालिया, खुदुनाबारी, सिद्धिनहर र भुतेनी खोलालगायत सिँचाइ आयोजनाहरू सञ्चालनमा छन् भने कचनकबल, कमल, गौरादह, मेचीनगरलगायत पालिकामा सीमित भूमिगत सिँचाइ सुविधा उपलब्ध छ। तर अझै अधिकांश क्षेत्र अकासे पानीमा निर्भर छन्, जसले रोपाइँलाई थप जोखिममा पारेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka