






काठमाण्डौ । कुनैबेला रुस र युक्रेनबीचको युद्ध २४ घण्टामा अन्त्य गर्ने दाबी गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिेबला आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनप्रति आक्रोशित भएका छन् । युक्रेनमा लगातार रुसी आक्रमणको आलोचना गर्दै ट्रम्पले पुटिनलाई चेतावनी दिएका छन् । यदि पुटिनले युद्ध जारी राखे भने उनलाई ठूलो मार पर्ने ट्रम्पले बताएका छन् ।
ट्रम्पले पुटिनले धेरै पूर्व अमेरिकी राष्ट्रपतिलाई मूर्ख बनाएको बताएका छन् । यससँगै ट्रम्पले युक्रेनसँग युद्धविराम सम्झौता गर्न रुसलाई ५० दिनको समयसीमा पनि दिएका छन् । ह्वाइट हाउसमा नेटो प्रमुख मार्क रुटेसँगको भेटमा ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् ।
रुसविरुद्ध कारबाही गर्ने धम्की दिँदै ट्रम्पले पुटिनले आक्रामकता जारी राखे पुटिनमाथि निकै ठूलो प्रहार हुने बताए । ट्रम्पले मस्कोले ५० दिनभित्र किभसँग युद्धविराम सम्झौता नगरे रुसमाथि शतप्रतिशत कर लगाउने चेतावनी दिएका छन् । रुसी आक्रमणबाट बचाउन अमेरिकाले युक्रेनमा प्याट्रियट एयर डिफेन्स सिस्टम पठाउने पनि ट्रम्पले पुष्टि गरेका छन् ।
रुस र युक्रेनबीच अहिलेसम्म अमेरिकी मध्यस्थतामा भएको वार्ता असफल भएकोमा ट्रम्पले निराशा व्यक्त गरेका छन् । यसअघि आइतबार अमेरिकी राष्ट्रपतिले पुटिनसँग आफू निकै निराश भएको बताएका थिए ।