Premier Cables
Premier Steel

कोशी प्रदेश विराटनगर

विश्वकै अग्लो स्थानमा रहेको होटल ‘एभरेस्ट भ्यु’ अब कोसी प्रदेशमा दर्ता

नोट: यो समाचार १ महिना अघिको हो

Calendar मंगलबार, असार २४, २०८२  | अपराह्न २:५६ बजे

विराटनगर । सगरमाथाको फेदीमा अवस्थित विश्वकै अग्लो स्थानको होटल ‘एभरेस्ट भ्यु’ अब आधिकारिक रूपमा कोसी प्रदेशमा दर्ता भएको छ। होटलले कोसी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट सञ्चालन अनुमति प्राप्त गरेको हो।

प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित यो होटललाई कोसीको पर्यटन प्रबर्द्धनसँग जोड्न ऐतिहासिक कदम चालिएको छ। मन्त्रालयका सचिव विशाल घिमिरेले होटल एभरेस्ट भ्यु स्वाङ्बोचे प्रा.लि.का सञ्चालक आङ पेम्बा शेर्पालाई सञ्चालन अनुमति प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

बिज्ञापन

होटल विगतमा ट्राभल एजेन्सीको रूपमा सञ्चालित थियो। अब नयाँ कानुनी प्रावधानअनुसार औपचारिक रूपमा कोसी प्रदेश अन्तर्गत सञ्चालनमा आउनेछ। सञ्चालक शेर्पाले भने, “सरकारले एजेन्सीमार्फत होटल चलाउन नपाइने नीति ल्याएपछि हामीले आफ्नै प्रदेशको मन्त्रालयमा दर्ता गराएका हौं।”

सचिव घिमिरेका अनुसार, कोसी पर्यटन वर्षलाई लक्ष्य गरी मन्त्रालयले होटल क्षेत्रमा अनुगमनपछि आवश्यक प्रक्रिया पूरा गरी अनुमति दिएको हो। उनले भने, “यो सानो पहलले सगरमाथा केवल काठमाडौंको चिनारी होइन, कोसीकै गौरवसमेत हो भन्ने सन्देश दिएको छ।”

सन् १९७१ मा सञ्चालनमा आएको होटल एभरेस्ट भ्यु सन् २००४ मा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’मा विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको होटलको रूपमा सूचीकृत भएको थियो। होटल नेपालकै सगरमाथा राष्ट्रिय निकुञ्ज भित्र पर्छ र युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रभित्र अवस्थित छ।

होटलबाट ३६० डिग्री हिमालको दृश्य अवलोकन गर्न सकिन्छ भने प्रत्येक कोठाबाट सगरमाथा हिमशृङ्खलाको दृश्य देखिन्छ। हाल होटलमा १२ वटा कोठा छन्, जसमा वर्षेनि हजारौं साहसी पर्यटकहरू बस्न आउने गरेका छन्।

कसरी बन्यो एभरेस्ट भ्यु ?

सन् १९६८ को वसन्तमा जापानी नागरिक टाकासी मियाहारा पहिलो पटक स्याङ्बोचेको डाँडाबाट सगरमाथा हेरेपछि यत्रो उचाइमा विश्वस्तरीय होटल बनाउने सपना देखे।

३,८८० मिटर उचाइमा सडक पहुँचबिना होटल बनाउनु त्यतिबेला ठूलो चुनौती थियो। सामग्रीहरू जापानबाट मगाइन्थे, कलकत्ताको बन्दरगाहबाट नेपाल ल्याइन्थ्यो र त्यसपछि हिँडेर वा हेलिकप्टरमार्फत स्याङ्बोचे पुर्‍याइन्थ्यो।

सोलारियमका काँच, स्लाइडिङ ढोका, भाँडाकुडा, ब्ल्याङ्केट जस्ता सामग्री जापानबाट ल्याइएका थिए। होटल निर्माणमा स्थानीय शेर्पाहरूको महत्वपूर्ण भूमिका थियो। डिजाइन जापानी वास्तुविद् योशिनोबु कुमागायाले गरेका थिए।

कठोर मेहनत र साहसिक परिकल्पनाको नतिजा स्वरूप सन् १९७१ मा होटल एभरेस्ट भ्यु साकार भएको थियो। अहिले पनि यो होटल सरल, वातावरणमैत्री तर आकर्षक डिजाइको प्रतीक मानिन्छ।

अब कोसी प्रदेशमा दर्ता भएपछि यो होटलले प्रदेशको पर्यटन पहिचानलाई थप बल दिने विश्वास लिइएको छ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka