






विराटनगर । सुनचाँदी व्यवसायीहरूले सरकारले सुन र चाँदीमा लगाएको कर वृद्धिको विरोध गर्दै शुक्रबार विराटनगरमा प्रदर्शन गरेका छन्।
व्यवसायीहरूले पसल बन्द गरेर हातमा कालो पट्टी बाँध्दै पञ्चमुखी हनुमान मन्दिर अगाडि चर्को कारका लागी सरकार विरुद्ध नाराबाजी गरे ।
सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेटमार्फत सुनचाँदी खरिदबिक्रीमा २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि व्यवसायी आन्दोलित भएका हुन्। व्यवसायीहरूले सरकारले कर घटाएर उद्योगमैत्री वातावरण बनाउनुपर्ने माग गरेका छन्।
विराटनगरमा लामो समयदेखि सुनचाँदी व्यवसाय गर्दै आएका महेश स्वर्णकारले सरकारले गरेको कर वृद्धिले व्यवसायीलाई धराशायी बनाएको र विदेशी बजारलाई प्रोत्साहन गरिएको आरोप लगाए। “सरकारले माग पूरा नगरेसम्म आन्दोलन जारी रहनेछ,” स्वर्णकारले भने।
नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले यसअघि असार मसान्तसम्म सरकारलाई अल्टिमेटम दिएका थिए। तर, सरकारको मौनतापछि व्यवसायीहरूले पुनः पसल बन्द गरेर आन्दोलनलाई निरन्तरता दिएका छन्।
नेपाल सुनचाँदी व्यवसायी संघ विराटनगरका अध्यक्ष ससी भूषण शाहले “कर वृद्धिले व्यवसायी र उपभोक्ता दुवैलाई मारमा पारेको” भन्दै माग पूरा नभए देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिए।
प्रदर्शनमा सरिक उपभोक्ता सोभा प्याकुरेलले कर वृद्धिले व्यवसायी मात्र नभई उपभोक्तासमेत प्रभावित भएको बताइन्। “यो कर नीतिले गहना किन्नसमेत समस्या परिरहेको छ,” प्याकुरेलले भनिन्।
व्यवसायीहरूले एउटै वस्तुमा दुई प्रकारका कर लगाउनु अन्यायपूर्ण भएको भन्दै अव्यवहारिक कर नीति फिर्ता लिन सरकारसँग अपिल गरेका छन्। उनीहरूको भनाइ छ कि २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याटले व्यवसायलाई धराशायी बनाउँदै लगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारलाई अविलम्ब कर नीतिमा पुनर्विचार गर्न र उद्योगमैत्री वातावरण बनाउन आग्रह गरेको छ।