Premier Cables
Premier Steel

राष्ट्रिय

पत्रकार दिलभूषण पाठकको गिरफ्तारीमा रोक, उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar सोमबार, असार ०२, २०८२  | साँझ ६:३५ बजे

काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई तत्काल गिरफ्तार नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

पक्राउ पुर्जीविरुद्ध पाठकले आइतबार पाटन उच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सोमबार न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।

बिज्ञापन

अदालतले आदेशमार्फत पठकलाई कानुनअनुसारबाहेक धरपकड नगर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको छ। आदेशमा भनिएको छ, ‘निवेदकको गम्भीरतालाई विचार गरी निवेदक दिलभूषण पाठकलाई कानुन बमोजिम बाहेक धरपकड नगर्नू, नगराउनू भनी विपक्षीहरूको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ।’

यो आदेशपछि हाललाई प्रहरी प्रशासनले पाठकलाई पक्राउ गर्न नपाउने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए। उनका अनुसार अर्को आदेश नभएसम्म अल्पकालीन अन्तरिम आदेश लागू हुनेछ।

पाठकको तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, दिनेश त्रिपाठी, भीमार्जुन आचार्य, ओमप्रकाश अर्याल, सन्तोष सिग्देल, गोकुल भण्डारी, कुलराज लामिछाने, गोकुल न्यौपाने र दिवाकर पुरीले बहस गरेका थिए।

यही मुद्दामा अदालतले विपक्षी पक्षलाई असार ५ गते उपस्थित भई अन्तरिम आदेश किन जारी नगर्ने भन्ने विषयमा छलफल गर्नसमेत आदेश दिएको छ। साथै, अदालतले मागबमोजिमको आदेश जारी नहुनुपर्ने कारणसहित १५ दिनभित्र उच्च सरकारी वकिल कार्यालय पाटनमार्फत लिखित जवाफ पेश गर्न पनि आदेश दिएको छ।

यसअघि जेठ २८ गते नेपाल प्रहरीको साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पाठकको नाममा पक्राउ पुर्जी लिएको थियो। पत्रकार पाठकले ‘टफ टक’ नामक युट्युब च्यानलमार्फत हिल्टन होटल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवालाई जोडेर भिडिओ सार्वजनिक गरेका थिए। यही विषयमा उजुरी परेपछि ब्युरोको अनुरोधमा जिल्ला अदालतले पक्राउ अनुमति दिएको थियो।

तर, सो अनुमति जिल्ला अदालत काठमाडौंको कार्यक्षेत्रबाहिर भएको भन्दै कानुनी क्षेत्रमै प्रश्न उठाइएको थियो। अदालतको पछिल्लो आदेशसँगै अब यो प्रकरणमा थप कानुनी बहस असार ५ गतेपछि अघि बढ्नेछ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka