Premier Cables
Premier Steel

शेयर बजार

सेयर बजारमा बल्ल सकारात्मक माहोल, बढ्न थाले सबै सूचक

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar मंगलबार, जेठ २७, २०८२  | अपराह्न ३:२२ बजे

काठमाडौं । सेयर बजारमा बल्ल सकारात्मक माहोल देखिन थालेको छ । नेप्से सूचकसहित कारोबार रकम बढ्न सुरु गरेको छ । मंगलबार नेप्से सूचक २६.२४ विन्दुले बढेर २६७९.३४ अंकमा आएको छ । १० अर्ब १६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । फाइनान्स समूहमा सबैभन्दा बढी तेजी आएको छ । वाणिज्य बैंक समूह पनि बढेको छ ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको तथ्यांक अनुसार अर्थतन्त्रका सूचकहरु सकारात्मक हुँर्दै गएका छन् । बाह्य अर्थतन्त्रका सूचकहरु त निकै मजुबत देखिएका छन् । अब आन्तरिक अर्थतन्त्रका सूचकहरु पनि सकारात्मक बन्दै जाने संकेत भने देखिएको छ । यसले पनि बजारमा माहोल ल्याउन भूमिका खेल्ने देखिन्छ ।

बिज्ञापन

आधारभूत पक्ष सबल रहेका, लाभांश दिन सक्ने मीड र हाई क्यापका कम्पनीहरु पनि विस्तारै चल्न सुरु हुने संकेत देखिएको छ । आधारभूत अवस्था (फन्डामेन्टल) बलिया भएका कम्पनीहरु चल्न थाल्यो भने त्यो समग्र सेयर बजारकै लागि राम्रो हुनेछ । यसबाट बजारको वृद्धि र विकास फराकिलो हुने अनुमान गर्न सकिन्छ । सेयर बजारको बुल रन अवधि पनि लामो हुन सक्ने यसबाट विश्लेषण गर्न सजिलो हुन्छ ।

असार लाग्नै लाग्दा सेयर बजारमा केही रौनकता थपिने संकेतहरु देखिन थालेको हो । किनभने असार, साउन तथा भदौ लगायतका महिनाहरु सेयर बजारको प्रमुख सिजनका रुपमा समेत चिनिन्छन् । त्यसमा पनि यसपटक बजारले निकै लामो समय साइडवेजमा बिताइसकेको छ । यसआधारमा पनि नेप्सेले गति लिन विलम्ब भइसकेको जानकारहरु बताउँछन् ।

नीतिहरुले सपोर्ट गर्दै जाँदा पनि सेयर बजार निकै लामो समयसम्म रुमलिएको थियो । तर बजार २६ सयको मनोवैज्ञाकि तहबाट तल झर्न भने मानेन् । पटकपटक यो लेबलमा आएपछि नेप्से माथितिरै फर्किने गरेको देखिन्छ । यसपटक पनि यही तह आसपासमा आएर नेप्से माथितिर लागेको छ, जुन सकारात्मक संकेत हो । तर पनि केही दिन नबढी बजारको साइडवेज ट्रेन्ड सकिएको हो वा होइन भनेर ठोकुवा भने गर्न मिल्दैन ।

केही दिनसम्म लगातार सूचकका साथमा कारोबार रकमसमेत बढोत्तरी हुँदै गयो भने बजार वृद्धिका बारेमा थप सकारात्मक धारणा बनाउन सकिनेछ । गत वर्ष पनि असार–साउनकै समयमा बजार छलाङ मारेको थियो । त्यसयता भने बजार साइडवेजमै बस्यो । यो वर्ष पनि यही समयमा बजार बढ्ने आशामा धेरै लगानीकर्ता बसिरहेको पाइन्छ ।

नीतिनियम सहज हुँदै गएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता छ । ब्याजदर सस्तो छ । लगानीका अन्य क्षेत्र संकुचित छन् । यस्तो अवस्थामा अर्थतन्त्र सुधारको प्रस्थान विन्दु सेयर बजारबाटै हुने विश्लेषणहरु भइरहेका छन् । बजारले पनि पछिल्ला दिनहरुमा यस्तै संकेत देखाइरहेको छ । यद्यपि, सेयर आपूर्ति ठूलो छ । त्यस अनुसारमा माग सिर्जना गर्नका लागि आम लगानीकर्ताको मनोबल उच्च हुन सक्नुपर्छ ।

बजारमा नयाँ लगानीकर्ताको प्रवेश हुनुपर्छ । पुरानाको पनि क्रय क्षमता बढ्नुपर्ने हुन्छ । यसका लागि केन्द्रीय बैंकले कर्जा लिने प्रक्रिया पनि सहज हुनुपर्छ । अहिले कर्जा लिन पनि प्रक्रियागत झन्झट बढी छ । त्यसमा सहजीकरण हुनुपर्ने लगानीकर्ताहरुले माग गरिरहेका छन् । आगामी मौद्रिक नीतिबाट यस्ता समस्या र अवरोधहरुलाई खुकुलो बनाइएमा सेयर बजार अघि बढ्नेमा विश्वस्त हुन सकिने जानकारहरु बताउँछन् ।

बजार बुलिस हुनुका लागि नीतिगत अवरोध हट्नुपर्ने हुन्छ । सहज तरिकाले सस्तो ब्याजदरमा सेयर धितो कर्जा पाउनुपर्छ । यस्तै, संस्थागत र ठूला लगानीकर्ताको प्रवेश हुन जरुरी देखिन्छ ।

यसैगरी, सूचीकृत कम्पनीहरुको मुनाफा र लाभांश क्षमता विस्तार आवश्यक हुन्छ । अर्थतन्त्रले पनि गति लिंदै जानुपर्ने देखिन्छ । यति हुन सकेमा सेयर बजारले अर्थतन्त्रको वास्तविक प्रतिनिधित्व पनि गर्न सक्नेछ ।

समग्र बजारमा तेजी आउनका लागि आधारभूतरुपमा सबल अवस्था रहेका, लाभांश वितरण क्षमता राम्रो रहेका कम्पनीहरु अघि बढ्नुपर्ने हुन्छ । तर अब विस्तारै यस्तो माहोल आउन सक्ने लगानीकर्ताले अनुमान लगाइरहेका छन् ।

धेरै नीतिगत अवरोधहरु हटिसकेको भए पनि बैंक–वित्तीय संस्थालाई अल्पकालीन कारोबार गर्न दिने व्यवस्था र व्यक्तिगततर्फ सेयर धितो कर्जाको सीमा भने अझै खुला गरिएको छैन । आगामी मौद्रिक नीतिबाट यी समस्या पनि समाधान हुने विश्वास लगानीकर्ताहरुले लिएको पाइन्छ ।

वित्तीय प्रणालीमा अधिक तरलता भए पनि कर्जा लिएर त्यसलाई प्रयोग गर्न सक्ने सामथ्र्य धेरैको छैन । कर्जा लिन सक्ने क्षमतामै ह्रास आएपछि प्रणालीमा अधिक तरला भए पनि त्यो अहिलेसम्म अपेक्षा अनुसार सेयर बजारमा आउन सकेको छैन ।

त्यसो त केन्द्रीय बैंकले हालैमात्र ठूला कर्जाका लागि जोखिमभार कम गरेकाले अब विस्तारै ठूला तथा संस्थागत लगानीकर्ताहरुले सेयर धितो कर्जा लिनेक्रम बढाउने अनुमानहरु भइरहेका छन् । बैंक ब्याजदर निकै तल्लो विन्दुमा झरेको छ । यतिबेला बैंकमा निक्षेप राखेर खासै ब्याज आउने अवस्था छैन । यसकारण निक्षेपकर्ताहरु विकर्षित भइरहेको देखिन्छ ।

सेयर कर्जा बढ्दै गएको बैंकरहरुले बताएका छन् । केन्द्रीय बैंकको तथ्यांकले पनि यसलाई पुष्टि गरिसकेको छ । कर्जा लिएर सेयरमा लगानी गर्नेहरु बढ्दै जाँदा बजारमा सेयरको माग पनि बढ्ने र त्यसले समग्र सूचकलाई माथि लैजान सहयोग गर्ने विश्लेषण गर्न सकिन्छ ।

यस दिन ३ सय ११ कम्पनीको २ करोड ३६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५८ करोड ४९ लाख रुपैयाभन्दा बढीसहित कारोबार रकममा एचआइडीसीएल प्रमोटर अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण काबेली हाइढ्रोपावर र राधि विद्युत कम्पनी परेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka