विराटनगर । झापा र सुनसरीका विभिन्न स्थानबाट लागूऔषधसहित १० जना पक्राउ परेका छन् ।
प्रहरीले कात्तिक २६ गते झापाको बिर्तामोड नगरपालिका–९ घौलापुलबाट दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिर्तामोड–७ का २० वर्षीय राहुल शेख र १९ वर्षीय समिर मिया रहेका छन् । उनीहरूको साथबाट ७०० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का ३० वर्षीय समुएल राईलाई १ ग्राम ८० मिलिग्राम र भोक्राहा नरसिंह गाउँपालिका–१ का २६ वर्षीय जीवन उराँवलाई ८१ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ ।
यसैगरी, इटहरी उपमहानगरपालिका–३ का रबिन भुजेल, २७ वर्षीय किशोर राई र २२ वर्षीय विवेक माझीलाई प्रतिबन्धित औषधि निट्राजेपामका ९ ट्याब्लेटसहित नियन्त्रणमा लिइएको छ ।
यता, इलाका प्रहरी कार्यालय देवानगञ्ज र साहेबगञ्जबाट खटिएको प्रहरी टोलीले तीन जनालाई ४ किलो ५० ग्राम गाँजासहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्जु गाउँपालिका–५ का २७ वर्षीय डोमा बस्नेत, २३ वर्षीय पवनकुमार यादव र भारतको अररिया जिल्लाका २३ वर्षीय सोनु यादव रहेका छन् ।
प्रहरीले उनीहरू सवार को १–०२–००४ ह ९६६९ नम्बरको ई–रिक्सा, को १५ प ९६५६ नम्बरको मोटरसाइकल र भारतीय नम्बर प्लेटको मोटरसाइकलसमेत जाँच गर्ने क्रममा लागूऔषध बरामद गरेको जनाएको छ ।
पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
