विराटनगर । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन सम्पन्न भएसँगै अब पार्टीभित्र प्रदेश अधिवेशनको सरगर्मी बढ्न थालेको छ। कोशी प्रदेश अधिवेशन नजिकिँदै गर्दा प्रदेश सभापति पदका लागि आकांक्षा राख्ने नेताहरूको संख्या पनि बढ्दै गएको छ।
प्रदेश सभापतिका लागि अहिले मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बु, नेपाली कांग्रेस कोशी प्रदेशका वर्तमान सहमहामन्त्री खड्ग फागो, पूर्व राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी, उमेश थापा, दिनेश राई र मानबहादुर लिम्बुको नाम चर्चामा छ।
चर्चामा रहेका डिगबहादुर लिम्बु र खड्ग फागो एउटै निर्वाचन क्षेत्रका नेता हुन्। एउटै क्षेत्रका दुई नेताले प्रदेश सभापतिमा दाबी गर्ने तयारी गरेपछि कांग्रेसभित्रको आन्तरिक समीकरणलाई समेत चासोका साथ हेरिएको छ।
सभापति पदका लागि आधा दर्जन नेताको नाम चर्चामा आएपछि यसपटकको नेपाली कांग्रेस कोशी प्रदेश अधिवेशन प्रतिस्पर्धात्मक बन्ने देखिएको छ। यद्यपि, चर्चामा रहेका सबै नेताले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छैनन्।
प्रदेश सभापतिका लागि आकांक्षा राख्ने अन्य नेताहरूले समेत आन्तरिक तयारी गरिरहेको कांग्रेस वृत्तमा चर्चा छ। उम्मेदवारीलाई अन्तिम रूप दिन नेताहरूले प्रदेशदेखि केन्द्रसम्म आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास गरिरहेका छन्।
विशेषगरी पार्टी सभापति गगन थापाको समर्थन प्राप्त हुने अपेक्षासहित आकांक्षी नेताहरू केन्द्रीय तहमा लबिङ गरिरहेको कांग्रेसका जानकारहरू बताउँछन्।
केन्द्रीय महाधिवेशनपछि पार्टीभित्रको शक्ति सन्तुलन र नयाँ नेतृत्वको समीकरण बन्ने क्रम जारी रहँदा कोशी प्रदेश सभापतिको दौडमा को–को औपचारिक रूपमा मैदानमा उत्रिन्छन् भन्ने चासो बढेको छ।
