जर्मनी । जर्मनीको फ्याङ्कफर्टसहित विभिन्न सहरमा महँगी, सरकारी खर्च कटौती र अनिवार्य सैन्य सेवाविरुद्ध भएको प्रदर्शन हिंसात्मक बनेको छ।
शनिबार राति फ्याङ्कफर्टमा प्रदर्शनकारीहरूले पसलहरूमा लुटपाट गर्नुका साथै प्रहरीसँग झडप गरेका छन्। बीबीसीका अनुसार बर्लिन, कोलोन र ह्यामबर्गमा समेत हिंसात्मक घटना भएका छन्।
प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन पानीको फोहरा प्रयोग गरेको थियो। प्रदर्शनकारीहरूले प्रहरी तथा आपतकालीन सेवाका कर्मचारीमाथि पटाका, ढुङ्गा र बोतल प्रहार गरेका थिए। घटनामा प्रहरीले कैयौँलाई पक्राउ गरेको छ।
‘जेनजी रेगेल्ट’ अभियानको ब्यानरमा आयोजित प्रदर्शनमा फ्याङ्कफर्ट, म्युनिख र बर्लिनमा गरी करिब १८ हजार मानिस सहभागी भएका थिए।
प्रदर्शनकारीहरूले विद्यालयमा बजेट वृद्धि, जीवनयापनको बढ्दो लागत नियन्त्रण, सरकारी खर्च कटौतीको विरोध तथा अनिवार्य सैन्य सेवा खारेजीको माग गरेका छन्।
अभियानकी प्रवक्ता लीना फ्रेडरिकले स्वास्थ्य र शिक्षा प्रणालीमा सुधार तथा शान्ति र स्वतन्त्रताको पक्षमा प्रदर्शन गरिएको बताएकी छन्।
दिउँसो शान्तिपूर्ण रहेको प्रदर्शन रात पर्दै जाँदा हिंसात्मक बनेको हो।
