काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने खेलमा दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रनेछन् ।
पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स आजको खेल जित्दै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने योजनामा छ । दुई खेल खेलेको जनकपुरले एकमा जित र अर्कोमा हार व्यहोरेको छ ।
जनकपुरले पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको हार बेहोरेको थियो । तर, दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गर्दै काठमाण्डू गोर्खाजलाई ८ विकेटले पराजित गरेको थियो ।
यता, पोखरा एभेन्जर्स भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ । एक खेल खेलेको पोखरा अंकविहीन रहँदै अंकतालिकाको पुछारमा छ । पहिलो खेलमा पोखरा दुईपटकको उपविजेता सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो ।
जनकपुर आफ्नो जितको लय कायम राख्न चाहन्छ भने पोखरा पहिलो सफलता हात पार्दै अंकतालिकामा खाता खोल्ने लक्ष्यमा हुनेछ ।
यी दुई टोलीबीचको खेल आज साँझ ५ बजे सुरु हुनेछ ।
