काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मंगलबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३२ रन बनायो।
कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए। उनले २९ बलमा चार चौका प्रहार गरे। पवन सर्राफले ३७ बलमा ३७ रन जोड्दै टोलीको स्कोर उकास्ने प्रयास गरे।
कर्णालीले सुरुआतदेखि नै नियमित अन्तरालमा विकेट गुमाएको थियो। पहिलो ओभरको अन्तिम बलमा मार्क वाट एक रन बनाएर आउट भए। चार रनमै पहिलो विकेट गुमाएको कर्णालीले १८ रन पुग्दा दोस्रो विकेट पनि गुमायो।
जनकपुरका लागि डेब्यु गरेका आइकोनिक खेलाडी राहुल यादवले पहिलो बलमै विकेट लिँदै दीपक डुम्रेलाई १३ रनमा पभेलियन फर्काए। कर्णालीले ३७ रन जोड्दा हुसेन तलत तीन रन बनाएर आउट भए।
त्यसपछि पवन सर्राफ र अरिफुल इस्लामले चौथो विकेटका लागि ४२ रनको साझेदारी गर्दै कर्णालीको इनिङ सम्हाल्ने प्रयास गरे। तर, दुवै ब्याटर आउट भएपछि कर्णालीको रन गति फेरि सुस्तायो।
अक्बर अली र कप्तान सोमपाल कामीले समान एक रन बनाए। गुल्सन झाले १२ रन जोड्दा नन्दन यादव नौ रन बनाएर आउट भए। युवराज खत्री र युनिश ठकुरी भने अविजित रहे।
जनकपुरका लागि हर्मीत सिंहले तीन विकेट लिए। राहुल यादवले डेब्यु खेलमै विकेट लिँदै टोलीलाई महत्त्वपूर्ण सफलता दिलाए।
अब जनकपुर बोल्ट्सले जितका लागि २० ओभरमा १३३ रन बनाउनुपर्नेछ।
