विराटनगर । डेविड मलानको अर्धशतकीय इनिङको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा विराटनगर किंग्ससामु १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको हो ।
चितवनका लागि ओपनर डेविड मलानले सर्वाधिक ७० रन बनाए । उनले ५० बलको सामना गर्दै पाँच चौका र पाँच छक्का प्रहार गरे । मलानले अर्का ओपनर देव खनालसँग पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए ।
अविजित रहेका रवि बोपाराले ३२ रन जोड्दा डान मुस्लेले २९ र देव खनालले १२ रन बनाए ।
विराटनगरका लागि एञ्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलंकाले एक–एक विकेट लिए ।
खेलका क्रममा विराटनगरका कप्तान सन्दीप लामिछानेले १७.३ ओभरमा डीआरएसको अपिल गरेका थिए । उक्त बलमा मैदानी अम्पायरले नटआउट दिएपछि सन्दीपले निर्णय चुनौती दिएका थिए । तर, टिभी अम्पायरले पनि नटआउटको निर्णय कायम राखेपछि चितवनका डान मुस्लेको विकेट जोगिएको थियो ।
दुवै टोली प्रतियोगिताको पहिलो खेलमा जित निकाल्दै सुखद सुरुआत गर्ने लक्ष्यमा छन् । पहिलो सिजन लिग चरणबाटै बाहिरिएको विराटनगरले दोस्रो सिजनमा भने सुधारिएको प्रदर्शन गर्दै प्लेअफसम्मको यात्रा तय गरेको थियो । त्यसैगरी, पहिलो सिजन एलिमिनेटरसम्म पुगेको चितवन दोस्रो सिजनमा लिग चरणबाटै बाहिरिएको थियो ।
सोमबारदेखि सुरु भएको प्रतियोगितामा साविक विजेता लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गर्दै विजयी सुरुआत गरिसकेको छ ।
