विराटनगर । विराटनगरस्थित काली मन्दिरदेखि प्राचीन रङ्गेलीको काली मन्दिरसम्म यस वर्ष पनि निशान (ध्वजा) पैदल यात्रा आयोजना हुने भएको छ। आगामी कात्तिक ३ गते महानवमीका दिन आयोजना हुने यात्राको यो १०औँ संस्करण हो।
नौ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यात्रामा यस वर्ष करिब १८ हजार जनाको सहभागिता रहने आयोजकले अनुमान गरेको छ। यात्रामा करिब ८ हजार निशान ध्वजा यात्री र अन्य १० हजार श्रद्धालु सहभागी हुने अपेक्षा गरिएको छ।
विराटनगरबाट हातमा निशान ध्वजा र झण्डा बोकेर सुरु हुने यात्राले करिब २३ किलोमिटर दूरी तय गर्नेछ। विभिन्न स्थानमा विश्राम गर्दै सहभागीहरू रङ्गेलीस्थित प्रसिद्ध काली मन्दिर पुगेर निशान ध्वजा अर्पण गर्नेछन्।
यात्राका लागि जीवन विकासको कार्यालयअगाडि, सेलो मिल जुडी पुलछेउ, रामचोक पूर्व, दादरबैरियास्थित वसन्त राजवंशीको काँटाकोला, आनन्द इँटाभट्टा, किसान अग्रवालको मिल, कर्सिया नहर, बेतौना चोकस्थित सन्तोष रौनियारको गोला तथा संसारीमाईलगायतका स्थानमा विश्रामस्थल निर्धारण गरिएको आयोजकले जनाएको छ।
यात्रामा सहभागी हुने निशान ध्वजा यात्रीबाट प्रतिव्यक्ति ३०० रुपैयाँ सहभागिता शुल्क लिइनेछ। यात्रा व्यवस्थापनमा करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। उक्त खर्च सहभागिता शुल्क र दाताहरूबाट प्राप्त सहयोगमार्फत जुटाइने आयोजकले जनाएको छ।
यात्रा सम्पन्न भएपछि सहभागी सबैका लागि रङ्गेलीस्थित काली मन्दिर परिसरमा रहेको धर्मशालामा निःशुल्क प्रसाद तथा भोजनको व्यवस्था गरिनेछ।
धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस यात्राले विराटनगर र रङ्गेलीबीचको धार्मिक सम्बन्धलाई थप बलियो बनाउनुका साथै परम्पराको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
१०औँ निशान ध्वजा पैदल यात्राको मूल व्यवस्थापन समितिले यात्राको समाचार प्रकाशन तथा प्रसारण गरिदिन र कार्यक्रममा सहभागी भई सहयोग गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरेको छ।
