पाकिस्तान। पाकिस्तानको मध्य भागमा पर्ने पञ्जाब प्रान्तमा मङ्गलबार बिहान यात्रुवाहक रेल पटरीबाट खस्दा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
रेलवेका प्रवक्ता कलीम अख्तरका अनुसार दक्षिणी बन्दरगाह सहर कराचीबाट उत्तरपश्चिमी सहर पेशावरतर्फ गइरहेको रेल सेर शाह सहरमा दुर्घटनामा परेको हो ।
दुर्घटनापछि उद्धारकर्मीहरूले रेलका १४ वटा डिब्बाबाट यात्रुलाई बाहिर निकालेका थिए । घाइतेहरूलाई उपचारका लागि नजिकैका अस्पतालमा पुर्याइएको छ । घटनास्थलमा उद्धारकर्मी तथा स्वास्थ्यकर्मी परिचालन गरिएको प्रवक्ता अख्तरले जानकारी दिनुभयो ।
दुर्घटनाप्रति पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शाहबाज सरिफले छुट्टाछुट्टै वक्तव्य जारी गर्दै दुःख व्यक्त गर्नुभएको छ । उहाँहरूले घाइतेहरूलाई गुणस्तरीय उपचार उपलब्ध गराउन सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।
पाकिस्तानमा लामो समयदेखि रेल पूर्वाधारमा पर्याप्त लगानी हुन नसक्नु, पुराना रेलमार्ग तथा जीर्ण सङ्केत प्रणालीका कारण रेल दुर्घटनाका घटना दोहोरिँदै आएका छन् ।
यसअघि सन् २०२३ मा दक्षिणी पाकिस्तानमा यात्रुवाहक रेलका १० वटा डिब्बा पटरीबाट खस्दा ३० जनाको मृत्यु भएको थियो भने ९० भन्दा बढी यात्रु घाइते भएका थिए ।
पछिल्लो दुर्घटनाको कारणबारे भने विस्तृत विवरण सार्वजनिक भएको छैन ।
