सुनसरी । स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्दै रोजगारदाता र रोजगारी खोजिरहेका युवाबीच प्रत्यक्ष सम्पर्क गराउने उद्देश्यले इटहरीमा सातदिने ‘सीप तथा रोजगार मेला–२०८३’ सुरु भएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सुरु भएको मेलाको बुधबार सभामुख डोलप्रसाद अर्यालले उद्घाटन गरे। ‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने नारासहित सुरु भएको मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ।
कोशी प्रदेशलाई केन्द्रमा राखेर आयोजना गरिएको मेलामा एक सयभन्दा बढी रोजगारदाता तथा तालिम प्रदायक संस्था सहभागी छन्। विभिन्न उद्योग तथा व्यवसायका ७५ भन्दा बढी स्टल राखिएको मेलामा युवाले रोजगारीका अवसर, आवश्यक योग्यता र सीपबारे जानकारी लिन तथा रोजगारदातासँग प्रत्यक्ष भेटघाट गर्न सक्नेछन्।
मेलामा रोजगारदाताले आवश्यक जनशक्तिको माग प्रस्तुत गर्नुका साथै सम्भावित उम्मेदवारको अन्तर्वार्ता र छनोटसमेत गर्न सक्ने व्यवस्था गरिएको मन्त्रालयका सचिव दीपक काफ्लेले बताए।
मेलालाई रोजगारीको सूचना दिने थलोमा मात्र सीमित नराखी सीप विकास, तालिम र रोजगारीलाई एकै ठाउँमा जोडिएको छ। मेलामा एआई तथा डिजिटल मार्केटिङ, कुक तथा बेकरी, ई–भेहिकल मर्मत, एसी मेकानिकलगायत १० विधाका छोटो अवधिका सीपमूलक तालिम सञ्चालन हुनेछन्।
मेलाका गतिविधिलाई दर्ता, मेला अवधिको सेवा र मेला पश्चात्को सहजीकरण गरी तीन चरणमा सञ्चालन गरिने आयोजकले जनाएको छ। मेला सकिएपछि पनि मागमा आधारित तालिम, सीप प्रमाणीकरण, उद्यमशीलता तालिम तथा निरन्तर परामर्शमार्फत युवालाई रोजगारी र स्वरोजगारीमा जोड्ने योजना छ।
