






विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विजयादशमी २०८२ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुसहित हार्दिक शुभकामना व्यक्त गरेका छन्।
टीकाको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न नेपालको ऐतिहासिक परम्परा र सामाजिक विविधताबाट समाहित यो पर्वले राष्ट्रिय एकता, आपसी सद्भाव र सामाजिक सहकार्यलाई अझ सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।
विजयादशमीले दुष्टतामाथि सद्भाव र सत्यको विजयको सन्देश दिने उल्लेख गर्दै उनले यस पर्वले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सबै नेपालीमा नयाँ उमंग, उर्जा र प्रेरणा दिने अपेक्षा गरेका छन्।
हालको राजनीतिक चुनौती, संवैधानिक मार्गदर्शन र सामाजिक विविधता सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले राष्ट्रिय एकता, लोकतन्त्र र गणतन्त्रलाई थप सुदृढ बनाउन सबै नेपाली एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्।
उनले कोशी प्रदेश सरकार मौलिक परम्परा र सांस्कृतिक विविधताको संरक्षण तथा प्रवर्द्धनमा प्रतिबद्ध रहेको पनि बताएका छन्।