






पोखरा । राइड सेयरियङ नियमावली एक महिनाका लागि स्थगित गर्ने गण्डकी प्रदेश सरकारले निर्णय गरेको छ ।
सरकार र यातायात व्यवसायीबीच सोमबार मध्यराति भएको सहमति कार्यान्वयन गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङ नियमावली स्थगित गर्न भन्दै पत्र पठाएको थियो ।
सोही पत्र अनुसार मुख्यमन्त्री कार्यालयमा आजै साँझ मुख्यमन्त्रीसहित सरोकार मन्त्रीहरू सहभागी बैठक बसेको थियो ।
‘भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेशबाट गठन भएको वार्ता समितिले सरोकारवाला पक्षलाई वार्ताका लागि पुन: आह्वान गरी वार्ता सम्पन्न गर्न एक महिनाको अवधि तोक्ने र उल्लिखित अवधिभर गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ बमोजिमका राइड सेयरिङ सम्बन्धी प्रावधानको कार्यान्वयन गर्ने कार्य प्रक्रिया स्थगन गर्ने भनी निर्णय भएको व्यहोरा जानकारीका लागि सबैमा अनुरोध छ,’ बैठकपछि मुख्यमन्त्री कार्यालयले सार्वजनिक गरेको निर्णयमा उल्लेख छ ।
राइडर शेयरिङ सम्बन्धी नियमावली पारित गरेसँगै यातायात व्यवसायीले विरोध गर्दै सवारी हड्ताल गरेका थिए । संघीय सरकारसँग मंगलबार वार्ता गरेपछि सरकारले गण्डकी सरकारलाई निर्णय तत्कालका लागि रोक्न पत्राचार गरेको थियो ।