






काठमाडौं । सरकार र आन्दोलनरत यातायात व्यवसायीबीचको वार्तामा सहमति जुट्न सकेन । वार्ता निष्कर्षविहीन बनेको छ ।
सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा दुबै पक्ष वार्तामा बसेका थिए । तर, पहिलो चरणको वार्ताले कुनै पनि निष्कर्ष ननिस्किएको सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले बताए ।
“गृहमन्त्री ज्यू समक्ष हाम्रा माग राख्यौँ । संघीय सरकारसँग बाझिने कानुन खारेज गर्नुस् भन्यौँ । उहाँले प्रदेशसँग छलफल गर्नुपर्छ भनेपछि हामीले आन्दोलन नरोक्ने अडान लिएर निस्कियौँ । पहिलो चरणको वार्ता निष्कर्षविहीन सकियो । हाम्रो आन्दोलन जारी छ,” उनले भने ।
गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई वैधानिकता दिने कानुन ल्याएपछि सार्वजनिक यातायात बचाऊ केन्द्रीय संघर्ष समितिले देशभर यातायात बन्दको घोषणा गरेको छ ।
गाडी ग्यारेजमा थक्याएर सार्वजनिक यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । जसको प्रत्यक्ष मारमा यात्रु परेका छन् । बन्दका कारण देशभर सार्वजनिक यातायात सेवा ठप्प छ । ठाउँठाउँमा यात्रु अलपत्र परेका छन् ।