फायल फोटो
विराटनगर । विराटनगरमा तास खेलिरहेको स्थानमा प्रहरी पुगेपछि भागदौड मच्चिँदा दुई तलामाथिबाट हामफालेर भाग्न खोज्ने एक जना घाइते भएका छन् ।
विराटनगर महानगरपालिका–६ सरोचियास्थित लालु पासवानको घरमा सोमबार राति तास खेलिरहेको अवस्थामा प्रहरी पुगेपछि भागाभाग भएको हो । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार भाग्ने क्रममा विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखियाले घरको दुई तलामाथिबाट हामफालेका थिए ।
हामफाल्दा मुखियाको दाहिने खुट्टा भाँचिएको छ । एम्बुलेन्स चालकसमेत रहेका उनको विराटनगरस्थित श्री अस्पतालमा प्रहरी निगरानीमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
एसपी कटवालका अनुसार राति करिब ११ः३० बजे गस्तीमा रहेको प्रहरी टोलीले सरोचियामा मानिसहरू होहल्ला गर्दै घरबाट भागिरहेको देखेपछि घटनास्थल पुगेको थियो । घरमा पुगेर जाँच गर्दा तास खेलिरहेको र प्रहरीलाई देखेपछि भागदौड भएको खुलेको उनले बताए ।
प्रहरीले तास खेलिरहेको अवस्थामा घाइते मुखियासहित आठ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनपालथान गाउँपालिका–६ का ३३ वर्षीय साजन राजवंशी, विराटनगर–४ का ५२ वर्षीय सत्यनारायण राजवंशी र ४८ वर्षीय तोरण यादव, विराटनगर–६ का २६ वर्षीय राजेश कामत, ५३ वर्षीय गंगाराम मण्डल र ४३ वर्षीय विष्णु कामत तथा विराटनगर–१४ का ५५ वर्षीय बलराम कोइराला छन् ।
प्रहरीले उनीहरूको साथबाट तास र नगद ४८ हजार ३ सय ९५ रुपैयाँ बरामद गरेको छ । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको एसपी कटवालले बताए ।
प्रहरी पुगेपछि भाग्ने क्रममा अन्य केही व्यक्तिसमेत सामान्य घाइते भएको बताइएको छ । प्रहरीले पासवानको घरमा नियमित रूपमा तास खेल्ने गरेको र तास खेल्न टाढाका स्थानबाट समेत मानिसहरू आउने गरेको जनाएको छ।
