Premier Cables

राजनीति

नेपालले ‘लस एन्ड ड्यामेज फन्ड’बाट २० मिलियन डलर पाउने अपेक्षा

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज ११, २०८३  | अपराह्न १:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

न्यूयोर्क । परराष्ट्रमन्त्री शिशिर खनालले हानि तथा नोक्सानी सम्बोधन कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज)बाट नेपालले तत्काल २० मिलियन अमेरिकी डलर अर्थात् करिब ३ अर्ब ६५ करोड रुपैयाँ प्राप्त गर्न सक्ने बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिकामा रहेका मन्त्री खनालले एक अन्तर्वार्तामा कोषको आगामी बोर्ड बैठकबाट नेपाललाई उक्त रकम उपलब्ध गराउने निर्णय हुन सक्ने बताएका हुन् ।

विज्ञापन

‘अब हामीले तुरुन्तै २० मिलियन डलर मागेका छौँ, मलाई लाग्छ त्यति चाहिँ पाइन्छ होला,’ उनले भने ।

खनालका अनुसार कोषको नेतृत्वसँग भएको छलफल, अर्थ तथा वातावरण मन्त्रालयबाट पठाइएको पत्र र नेपालले निरन्तर गरिरहेको पहलका कारण आगामी बोर्ड बैठकबाट सहयोग प्राप्त हुने अपेक्षा गरिएको हो ।

कोषको बोर्डको दसौँ बैठक सन् २०२६ को डिसेम्बरमा फिलिपिन्सको मनिलामा हुँदैछ ।

यद्यपि, रसुवामा आएको बाढीबाट भएको ठूलो जनधनको क्षतिको तुलनामा २० मिलियन डलर पर्याप्त रकम नभएको खनालले बताएका छन् । उनका अनुसार ठूलो क्षतिको तुलनामा उक्त रकम निकै सानो भए पनि कोषबाट सहयोग प्राप्त हुनु नेपालका लागि महत्वपूर्ण उपलब्धि हुनेछ ।

गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनसँग जोड्दै नेपालले आपत्कालीन सहयोग मागेको थियो । नेपालले लस एन्ड ड्यामेज फन्डमा आर्थिक सहयोगका लागि पत्र पठाएपछि कोषको बोर्डले नेपालले गरेको तत्काल सहयोगको अनुरोधलाई छिटो सम्बोधन गर्न छलफल तथा समन्वय भइरहेको जनाएको थियो ।

नेपालले यसअघि पनि कोषअन्तर्गत २० मिलियन डलर सहयोगका लागि पहल गरेको थियो । कोषबाट प्राप्त हुने रकम जलवायुजन्य विपद्बाट प्रभावित क्षेत्रमा राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि उपयोग गर्ने विषयमा सरकारले पहल गरिरहेको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka