Premier Cables

मौसम

भारतको उत्तर प्रदेशमा अविरल वर्षा, ५८ जनाको मृत्यु

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज ११, २०८३  | बिहान १०:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । भारतको उत्तर प्रदेशमा करिब ७२ घण्टादेखि जारी अविरल वर्षा, बाढी र जलभरावका कारण जनजीवन प्रभावित भएको छ । वर्षाजन्य विभिन्न घटनामा शनिबार साँझसम्म प्रदेशभर ५८ जनाको मृत्यु भएको छ ।

भारी वर्षाका कारण कच्ची घर भत्किनुका साथै रुख तथा विद्युत्का पोल ढलेका छन् । सडकमा पानी जम्दा यातायात प्रभावित भएको छ भने विद्युत् लाइनमा क्षति पुगेपछि विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । वर्षाले कृषि क्षेत्रमा समेत ठूलो क्षति पुर्‍याएको जनाइएको छ ।

विज्ञापन

सबैभन्दा बढी मानवीय क्षति अवध क्षेत्रका जिल्लामा भएको छ । सो क्षेत्रमा मात्रै २६ जनाको मृत्यु भएको छ । सीतापुरमा ६, बहराइचमा ५, बलरामपुर र अयोध्यामा ४–४ तथा बाराबंकीमा ३ जनाको मृत्यु भएको छ । गोन्डा, अमेठी र श्रावस्तीमा पनि वर्षाजन्य घटनामा मानवीय क्षति भएको छ ।

लखीमपुर खीरीमा ६, गोरखपुरमा ५, हरदोईमा ४ तथा हमीरपुरमा ३ जनाको मृत्यु भएको विवरणमा उल्लेख छ । प्रदेशका अन्य जिल्लामा पनि एक–दुई जनाको मृत्यु भएको जनाइएको छ ।

शनिबार लखीमपुर खीरीमा ३४२ मिलिमिटर वर्षा मापन गरिएको थियो । सीतापुरमा २७३.२, बाँदामा २४५.६ र बहराइचमा २३९ मिलिमिटर वर्षा भएको जनाइएको छ । बाँदा र हमीरपुरमा एकै दिन भएको वर्षाले यसअघिको रेकर्डसमेत तोडेको छ ।

कानपुरमा १७५.४ मिलिमिटर वर्षा भएपछि ४५ वर्षदेखिको वर्षाको रेकर्ड तोडिएको बताइएको छ ।

भारी वर्षाका कारण बरेलीको अधिकतम तापक्रम २१.३ डिग्री सेल्सियसमा झरेको थियो । यो सेप्टेम्बर महिनामा अहिलेसम्मकै न्यून अधिकतम तापक्रम भएको बताइएको छ । इटावा, शाहजहाँपुर, मुरादाबाद र आगरा पनि सेप्टेम्बरका चिसा दिनमध्ये एक बनेका छन् ।

भारतीय मौसम विभागले आइतबार पनि उत्तर प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने चेतावनी दिएको छ । मुरादाबाद, रामपुर, पीलीभीत र बरेलीमा अति भारी वर्षाका लागि ‘ओरेन्ज अलर्ट’ जारी गरिएको छ ।

तराई क्षेत्रका थप नौ जिल्लामा भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै ‘येलो अलर्ट’ जारी गरिएको छ । प्रदेशका २७ जिल्लामा मेघगर्जनसहित ४० देखि ६० किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ ।

क्षेत्रीय मौसम विज्ञान केन्द्रका वरिष्ठ वैज्ञानिक अतुल कुमार सिंहले सोमबारदेखि उत्तर प्रदेशमा वर्षाको गतिविधि घट्ने सम्भावना रहेको बताएका छन् ।

लगातारको वर्षाले राजधानी लखनउका धेरै सडक जलमग्न भएका छन् । कतिपय क्षेत्रमा घुँडासम्म पानी जमेको छ । पुरनिया ओभरब्रिजमुनि पानी जम्दा खाल्डाखुल्डीमा अटो र ई–रिक्सा पल्टिएका छन् ।

निशातगन्जमा करिब १५० वर्ष पुरानो बरको रूख ढलेको छ । नगर निगमका अनुसार लखनउमा मात्रै १२५ भन्दा बढी रुख ढलेका घटना भएका छन् । केही स्थानमा सवारीसाधनमा क्षति पुगे पनि ती घटनामा मानवीय क्षति नभएको जनाइएको छ ।

भारी वर्षाका कारण चारबाग रेलवे स्टेसन आसपास पनि पानी जमेको थियो । रेलमार्गमा पानी आएपछि लखनउ मण्डलका केही रेलखण्डमा रेलको गति घटाइएको छ ।

कम भिजिबिलिटीका कारण लखनउ विमानस्थलमा अवतरणका लागि आएका छवटा उडान दिल्ली र नोएडातर्फ डाइभर्ट गरिएका थिए । ती सबै विमान शनिबार बिहान लखनउ फर्किएको जनाइएको छ ।

नेपालमा समेत भारी वर्षा भइरहेकाले उत्तर प्रदेशका सीमावर्ती, विशेषगरी पूर्वी उत्तर प्रदेशका जिल्लामा नदीको जलस्तर बढ्न सक्ने भन्दै प्रशासनलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ । नदीको जलस्तर निरन्तर निगरानी गर्न र बाढी उद्धार टोलीलाई तयारी अवस्थामा राख्न सम्बन्धित जिल्लाका अधिकारीलाई भनिएको छ ।

उत्तर प्रदेशका ६३ जिल्लामा सामान्यभन्दा बढी वर्षा भएको जनाइएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर सामान्यभन्दा १९ गुणा बढी वर्षा भएको विवरणमा उल्लेख छ । फर्रुखाबादमा सामान्यभन्दा २०० गुणा र कानपुर नगरमा १६० गुणा बढी वर्षा भएको जनाइएको छ ।

सरकारका अनुसार पछिल्लो ४८ घण्टामा अतिवृष्टि र हावाहुरीका कारण ११७ वटा घरमा क्षति पुगेको छ । प्रभावित परिवारको तत्काल सर्वेक्षण गरी राहत उपलब्ध गराउन तथा जोखिममा रहेका कच्ची घरमा बस्ने परिवारलाई आवश्यकताअनुसार सुरक्षित स्थानमा सार्न प्रशासनलाई निर्देशन दिइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka