फायल फोटो
काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दैछन्। उनको विदेश भ्रमणका क्रममा यसपटक विगतको भन्दा फरक दृश्य देखिने भएको छ।
प्रधानमन्त्री शाहले विमानस्थलमा नेपाली सेनाको सलामी नलिने भएका छन्। साथै, मन्त्री, सरकारी पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीहरू विमानस्थलमा लामबद्ध भएर बिदाइ गर्ने परम्परासमेत नहुने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री विदेश जाँदा र फर्किँदा सरकारी पदाधिकारी तथा कर्मचारीहरू विमानस्थलमा ताँती लागेर बिदाइ तथा स्वागत गर्ने विगतको परम्परा तोडिनेछ।
न्युयोर्क प्रस्थान गर्ने दिन प्रधानमन्त्री शाह बिहानैदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियमित काममा व्यस्त छन्। उनी आज साँझ करिब सवा ६ बजे बालुवाटारस्थित निवासबाट विमानस्थलतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री विमानस्थल पुग्नुअघि नै भ्रमण टोलीका सदस्यहरू विमानस्थल प्रवेश गरिसक्ने जनाइएको छ। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्न लागेका हुन्।
