विराटनगर । नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको राष्ट्रिय अध्यक्षमा विराटनगरका गोपाल अग्रवाल निर्वाचित भएका छन् । संगठनको महासचिवमा विराटनगरकै मोहित लालवानी चयन भएका छन् ।
चितवनको सौराहामा असोज ३ र ४ गते सम्पन्न संगठनको पाँचौँ महाधिवेशनले अग्रवाललाई राष्ट्रिय अध्यक्षमा निर्वाचित गरेको हो । लालवानी भने महासचिव पदमा निर्विरोध निर्वाचित भएका हुन् ।
अग्रवाल यसअघि संगठनको राष्ट्रिय उपाध्यक्षको जिम्मेवारीमा थिए भने लालवानी सचिवका रूपमा कार्यरत थिए ।
लालवानी मारवाडी युवा मञ्च विराटनगरका अध्यक्षसमेत हुन् ।
महाधिवेशनमा देशभरका २६ वटा मारवाडी युवा संगठनबाट २ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो ।
महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको नाम निर्वाचन मण्डलले घोषणा गरेको थियो । निर्वाचन मण्डलमा सुरेन्द्र गोल्छा निर्वाचन प्रमुख तथा फूलकुमार लालवानी सहप्रमुख रहेका थिए ।
