फायल फोटो
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजनप्रति असन्तुष्टि जनाउँदै कांग्रेसको वर्तमान अवस्था कसले र कहाँबाट सञ्चालन गरिरहेको छ भन्ने प्रश्न गरेका छन्।
बिहीबार विज्ञप्ति जारी गर्दै कोइरालाले कांग्रेस अहिले विभाजित र दिशाहीन अवस्थामा पुगेको बताएका हुन्। उनले भनेका छन्, “दुःखका साथ भन्नुपर्छ, यतिखेर नेपाली कांग्रेसको पटकथा कहाँबाट, कसले, कसरी लेखिरहेका छन् मलाई थाहा छैन।”
उनले पार्टी एकढिक्का भएर राष्ट्र निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। कांग्रेसभित्रको विभाजनले आफूलाई पीडा दिएको भन्दै उनले आफ्नो पीडासँग पार्टीका धेरै कार्यकर्ताको भावना जोडिएको उल्लेख गरेका छन्।
कोइरालाले कांग्रेसको घोषित दुई महाधिवेशनले राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा आघात पार्न सक्ने चिन्ता व्यक्त गर्दै मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोज्नुपर्ने बताएका छन्।
उनले प्राकृतिक विपत्तिका कारण रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा नागरिकले भोगिरहेको पीडाप्रति राजनीतिक दल संवेदनशील हुनुपर्ने पनि बताएका छन्। चाडपर्वको मुखमा परिवारका सदस्य तथा आफन्त गुमाएका नागरिकको पीडा बुझेर सहमति, सहकार्य र एकताका माध्यमबाट उनीहरूको घाउमा मल्हम लगाउन कांग्रेसले भूमिका खेल्नुपर्ने उनको भनाइ छ।
“म को ठीक, को बेठीक भनेर वकालत कसरी गर्न सक्छु ? कांग्रेस हुँ भन्ने तर आफ्नै साथीभाइ माथि असुरक्षा, अपमान र घृणा पैदा गरेर निर्माण गरिने कांग्रेसको महलमाथि म बस्न सक्दिनँ,” कोइरालाले विज्ञप्तिमा भनेका छन्।
उनले आफू मध्यमार्गको पक्षमा रहेको उल्लेख गर्दै यही बाटो कांग्रेसको जीवन दर्शन भएको दाबी गरेका छन्। साथै, पार्टीलाई एकताबद्ध राख्न गाउँ–टोलदेखि केन्द्र र विदेशमा रहेका कांग्रेस कार्यकर्तालाई अभियानमा जुट्न आग्रह गरेका छन्।
विज्ञप्तिको अन्त्यमा कोइरालाले कांग्रेस एकता र राष्ट्र निर्माणको अभियानलाई सँगसँगै अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै भनेका छन्, “हामी उठ्छौं, जुट्छौं र जित्छौं।”
