






काठमाडौं । राइड शेयरिंग विवादले पोखरामा तीन दिनदेखि सार्वजनिक यातायातका साधन ठप्प छन् । प्रदेश सरकारले ल्याएको नयाँ नियमावलीको विरोध गर्दै यातायात व्यवसायीहरूले काठमाडौंमा समेत विरोध प्रदर्शन गरेका छन् ।
गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’ सञ्चालन तथा नियमन गर्ने नियमावली जारी गरेपछि आन्दोलन घोषणा गरेका व्यवसायीहरूले देशभर यातायात ठप्प पार्ने चेतावनी पनि दिएका छन् ।
सात वटै प्रदेशले दुईपाङ्ग्रे र चारपाङ्ग्रेनिजी सवारी साधनलाई पनि सार्वजनिक यातायात सरह यात्रु ओसार्न दिने प्रावधान ल्याउन लागेको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् । सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत हुनेगरी संघीय ऐनसँग बाझिने सातै प्रदेश सरकारहरूले ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले मिति २०८२ जेठ १ गते राजपत्रमा प्रकाशित गरी निजी सवारीसाधन (रातो प्लेट) सञ्चालन गर्न ल्याएको नियमावली २०८२ दफा २ को (ज) तत्काल खारेजीको माग गर्दै उनीहरूले आन्दोलन गरेका हुन् ।
माग सम्बोधन नभए सोमबारदेखि देशव्यापी रूपमा अनिश्चितकालका लागि सवारी साधन थन्क्याउने उनीहरूको चेतावनी छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले निजी सवारी साधनलाई सात वटै प्रदेशले राइड शेयरिङमार्फत सेवा दिने निर्णय गर्न लागेको कारण आफूहरू सडकमा आउनुपरेको बताए । उनले भने, “निजी सवारी साधनलाई सात वटै प्रदेशले एपमार्फत सेवा दिने भन्यो । यो भएको हुँदा हाम्रा सार्वजनिक सवारी साधनहरू सबै सकिने अवस्था आएको हुनाले हामी सडकमा आउनुपरेको हो ।”
राइड शेयरिङ आन्दोलन / नेपाल