काठमाडौं । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले भोटेकोसी बाढी प्रभावितका लागि केन्द्रीय कार्यालयले बनाएको कोषमा १७ लाख ६२ हजार ९५७ रुपैयाँ जम्मा गरेको छ । भदौ १० गते भोटेकोसीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ चितवनलगायत जिल्लामा ठूलो मानवीय एवं भौतिक क्षति गरेकोले ती क्षेत्रमा राहत तथा उद्दारका लागि काभ्रे कांग्रेसले राहत रकम हस्तान्तरण गरेको हो ।
पार्टी सदस्य र शुभेच्छुकबाट संकलन गरेको रकम हस्तान्तरण गरिएको नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामाले जानकारी दिए । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पुगेर सह–महामन्त्री उदय शमशेर राणा र प्रवक्ता देवराज चालिसेलाई रकम हस्तान्तरण गरेको लामाले बताए ।
मानवीय सेवाका लागि उक्त रकम पार्टीको केन्द्रीय विपद् व्यवस्थापन कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पठाइने कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसले सरकरी कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
