जनकपुरधाम | आर्थिक मन्दीलगायतका कारण मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा एक हजार ९३८ उद्योग तथा व्यवसाय बन्द भएका छन्।
मधेस प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार उक्त अवधिमा उद्योगतर्फ ८२१ र वाणिज्यतर्फ एक हजार ११७ व्यवसायको लगत कट्टा भएको छ।
यस्तै, गत आवमा प्रदेशभर पाँच हजार ६८ नयाँ उद्योग दर्ता भएका छन्। पर्सामा एक हजार १०१, धनुषामा ७७७, बारामा ६३९, सर्लाहीमा ६३६, सिरहामा ५५४, रौतहटमा ५३३, महोत्तरीमा ५१४ र सप्तरीमा ३१४ नयाँ उद्योग दर्ता भएका हुन्।
सोही अवधिमा सात हजार ५४० उद्योग नवीकरण भएका छन्। वाणिज्यतर्फ छ हजार १२२ निजी फर्म र १८ साझेदारी फर्म नयाँ दर्ता भएका छन् भने ११ हजार १४४ फर्म नवीकरण भएका छन्।
नयाँ उद्योग तथा वाणिज्य दर्ता र नवीकरणलगायतका शीर्षकबाट प्रदेश सरकारले पाँच करोड २६ लाख ४९ हजार ५६२ रुपैयाँ राजस्व सङ्कलन गरेको मन्त्रालयका सूचना अधिकारी उपेन्द्रकुमार महतोले जानकारी दिनुभयो।
महतोका अनुसार आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानीमा कमी, पुँजीको अभाव र स्थानीय तहबाट पनि उद्योग दर्ता गर्ने क्रम बढ्नुजस्ता कारणले उद्योग तथा व्यवसायको लगत कट्टा हुने सङ्ख्या बढेको हो।
