इरान | इरानले जनवरीमा भएको सरकारविरोधी प्रदर्शनका क्रममा चार प्रहरी अधिकारीको हत्या गरेको अभियोगमा एक विदेशी नागरिकलाई बिहीबार मृत्युदण्ड दिएको छ।
इरानी न्यायपालिकाको मिजान अनलाइनका अनुसार घेम हुसेनीलाई सर्वोच्च अदालतले मुद्दा पुनरावलोकनपछि यसअघि सुनाइएको मृत्युदण्डको फैसला सदर गरेपछि फाँसी दिइएको हो। हुसेनीको राष्ट्रियता भने सार्वजनिक गरिएको छैन।
मध्य इस्फहान प्रान्तमा प्रहरी अधिकारीहरूको मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा हुसेनीलाई दोषी ठहर गरिएको थियो। उनीमाथि हतियार प्रयोग गरी भय र आतङ्क फैलाएको, असुरक्षा सिर्जना गरेको तथा सार्वजनिक व्यवस्था र राष्ट्रिय सुरक्षामा गम्भीर क्षति पुर्याएको आरोप लगाइएको थियो।
इरानले यही घटनासँग सम्बन्धित अभियोगमा गत जुलाईयता थप चार जनालाई पनि मृत्युदण्ड दिइसकेको छ। पछिल्लो समय सरकारविरोधी प्रदर्शनसँग सम्बन्धित मुद्दामा मृत्युदण्ड पाउनेको सङ्ख्या बढ्दै गएको छ।
इरानी अधिकारीहरूका अनुसार जीवनयापनको बढ्दो लागतविरुद्ध सुरु भएको प्रदर्शन पछि व्यापक सरकारविरोधी आन्दोलनमा परिणत भएको थियो। उक्त आन्दोलनमा तीन हजारभन्दा बढी मानिसको मृत्यु भएको दाबी गरिएको छ।
नर्वेस्थित इरान ह्युमन राइट्स र पेरिसस्थित टुगेदर अगेन्स्ट द डेथ पेनाल्टीका अनुसार इरानले गत वर्ष कम्तीमा एक हजार ६३९ जनालाई मृत्युदण्ड दिएको थियो। ती संस्थाहरूले उक्त सङ्ख्या सन् १९८९ यताकै उच्च भएको दाबी गरेका छन्।
एम्नेस्टी इन्टरनेसनलका अनुसार चीनपछि इरान विश्वमा सबैभन्दा बढी मृत्युदण्ड दिने मुलुक हो।
