काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २०८३ आवश्यकताअनुसार संशोधन गर्ने भएको छ। विधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरिएको छ।
आज बसेको रास्वपाको संसदीय दलको अनौपचारिक बैठकमा सभापति रवि लामिछाने, शीर्ष नेता, मन्त्री तथा सांसदबीच संसद र सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।
बैठकमा मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठन हुने कार्यदलले सात दिनभित्र विधान संशोधनको प्रस्ताव र आवश्यक कार्यविधि तयार गर्ने विषयमा छलफल भएको संसदीय दलका उपनेता गणेश पराजुलीले बताए।
उनका अनुसार विधान संशोधनमा सांसदको संसदीय मर्यादा, जिम्मेवारी, जनताका आवाज उठाउने तथा कानुन निर्माण प्रक्रियालाई थप प्रभावकारी बनाउने विषय समेटिनेछ।
बैठकमा सांसदहरूले जनताका गुनासा तथा मन्त्रालयसँग सम्बन्धित विभिन्न विषय उठाएका थिए। मन्त्रीहरूले पनि आफ्नो मन्त्रालयअन्तर्गत भइरहेका कामबारे जानकारी गराएका थिए।
सरकारका कामकारबाही जनतासमक्ष पुर्याउने क्रममा देखिएका कमजोरी र दूरी पहिचान गरी सुधार गर्ने विषयमा समेत बैठकमा छलफल भएको उपनेता पराजुलीले जानकारी दिए।
