विराटनगर ।कोसी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले पार्टीभित्र अग्रज नेताहरूको अपमान भइरहेको र केन्द्रीय कार्यालय गैरकांग्रेसीहरूको थलो बनेको आरोप लगाएका छन्।
नेपाली कांग्रेसको इतर पक्षद्वारा काठमाडौंमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता कार्कीले पार्टी नेतृत्व र आन्तरिक गतिविधिप्रति तीव्र असन्तुष्टि जनाएका हुन्।
नेता कार्कीले पार्टी सभापति शेरबहादुर देउवा विदेश भ्रमणबाट स्वदेश फर्किँदा अन्य राजनीतिक दलहरूले विरोध नगरे पनि पार्टीभित्रकै केही व्यक्तिहरूले नकारात्मक भ्रम फैलाएको दाबी गरे।
“हिजो एमाले, माओवादी वा रास्वपा कसैले विरोध गरेनन्। तर कांग्रेसको चारतारे झन्डा ओढेका नक्कली व्यक्तिहरूले देउवालाई किन पक्राउ गरिएन भन्दै स्याल हुइँया मचाइरहेका छन्,” कार्कीले भने।
पूर्वराजा ज्ञानेन्द्र शाहले समेत खोस्न नसकेको प्रजातन्त्र अरू कसैले खोस्न नसक्ने उल्लेख गर्दै उनले लोकतन्त्र र पार्टीको रक्षाका लागि आफूहरू निरन्तर लड्ने प्रतिबद्धता जनाए।
सम्बोधनका क्रममा पूर्वमुख्यमन्त्री कार्कीले पञ्चायतकालमा जेल-नेल सहेर पार्टी निर्माणमा जीवन समर्पण गरेका पुराना नेताहरूलाई अपमान गरिएको भन्दै आक्रोश व्यक्त गरे। त्यागी नेताहरूलाई पन्छाएर पार्टी चलाउन खोज्नु आपराधिक मानसिकता भएको उनको टिप्पणी थियो।
पार्टी कार्यालयमा चटके र अपरिपक्व नेतृत्वको प्रभाव बढेको आरोप लगाउँदै उनले थपे, “टिकटक सुटिङ गरेर पार्टीलाई छियाछिया बनाइएको छ। गैरलोकतन्त्रवादी र कम्युनिस्टका बुद्धिव्यवसायीलाई राखेर अग्रजहरूलाई गाली गर्ने तालिम दिइँदै छ। कार्यकर्ताको रगत र पसिनाले बनेको कार्यालयमा गैरकांग्रेसलाई रजगज गर्ने अधिकार छैन।”
