विराटनगर । नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले वर्तमान केन्द्रीय कार्यसमिति भंग गरी एकताको महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टीलाई सम्भावित संकटबाट जोगाउन नियमित महाधिवेशन नै उपयुक्त विकल्प भएको उल्लेख गरेका छन्।
पार्टी नेतृत्वप्रति आलोचनात्मक टिप्पणी गर्दै कार्कीले वर्तमान अवस्थाको जिम्मेवारी केवल सभापतिमा मात्र सीमित नरहेको, पदाधिकारीहरू पनि उत्तिकै उत्तरदायी रहेको दाबी गरेका छन्। उनले पार्टी र देशका लागि स्पष्ट सन्देश दिन नेतृत्व असफल भएको टिप्पणी गरेका छन्।
कार्कीले अबको निकास वार्ता र महाधिवेशनमार्फत मात्रै सम्भव हुने उल्लेख गर्दै तत्काल पहल गर्न आग्रह गरेका छन्। उनले केन्द्रीय समिति भंग गरी वार्ताको वातावरण बनाउन, महाधिवेशन तयारी समिति गठन गर्न र एकताको आधारमा महाधिवेशनमा जानुपर्ने सुझाव दिएका छन्।
पार्टी सुदृढीकरणका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्नेमा जोड दिँदै उनले नेताहरूलाई केही कदम पछि हटेर संगठनलाई अघि बढाउन आग्रह गरेका छन्। समर्थक तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले तीव्र टिप्पणी पनि गरेका छन्।
यसअघि डा. शेखर कोइराला निकट मानिएका कार्की पछिल्लो समय कांग्रेसभित्र विशेष महाधिवेशनको पक्षमा खुलेर आवाज उठाउँदै आएका छन्। उनले पार्टी सुधारका लागि नेतृत्व परिवर्तन र स्पष्ट वैचारिक दिशा आवश्यक रहेको धारणा राख्दै आएका छन्।
