काठमाडौँ । विशेष अदालतले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् व्यवसायी शेखर गोल्छालाई १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
मंगलबार विशेष अदालतका न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले थुनछेक बहसपछि उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
व्यवसायी दीपक भट्टसँग जोडिएको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले गोल्छासँग उक्त रकम धरौटी बापत माग गरेको हो। यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गोल्छाविरुद्ध २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो।
हिमालय रिइन्स्योरेन्स लिमिटेडका पूर्वअध्यक्ष समेत रहेका गोल्छालाई नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत वैशाख १० गते काठमाडौँको नक्सालबाट पक्राउ गरेको थियो।
