विराटनगर । स्थापनाको पहिलो वर्षमै खेलकुद क्षेत्रमा सक्रियता बढाउँदै विराटनगर–३ मा रहेको विराट स्पोर्ट्स जोनले पहिलोपटक अन्तरविद्यालय क्रीकशल प्रतियोगिता आयोजना गर्ने भएको छ।
विद्यालयस्तरमा रहेका प्रतिभाशाली खेलाडीको पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा विराटनगर तथा आसपासका क्षेत्रका ३२ विद्यालय सहभागी हुने आयोजकले जनाएको छ।
प्रतियोगिता सुरुमा तीन दिनमा सम्पन्न गर्ने योजना रहे पनि विद्यालयहरूको अत्यधिक सहभागिताका कारण समय थप गरिएको छ। प्रतियोगिता साउन २७ गतेदेखि ३१ गतेसम्म पाँच दिन सञ्चालन हुने कार्यक्रम संयोजक करण कार्कीले जानकारी दिए।
प्रतियोगिताको पहिलो दिन १२ टोलीबीच ६ वटा खेल सञ्चालन गरिनेछ। त्यसपछि दोस्रो दिन ७ वटा खेल सञ्चालन गर्ने तयारी गरिएको आयोजकले जनाएको छ। बाँकी खेलहरू पनि निर्धारित तालिकाअनुसार सञ्चालन गर्दै प्रतियोगिता पाँच दिनभित्र सम्पन्न गरिनेछ।
प्रतियोगितामा निजी विद्यालयसँगै २ देखि ४ वटा सामुदायिक विद्यालयको समेत सहभागिता रहेको आयोजकले जनाएको छ। विद्यालयस्तरका सबै प्रकारका खेलाडीलाई समान अवसर दिने उद्देश्यले सामुदायिक विद्यालयलाई समेत प्रतियोगितामा सहभागी गराइएको आयोजकको भनाइ छ।
प्रतियोगिताका खेलहरूमा जिल्लास्तरका अम्पायरहरू परिचालन गरिने भएका छन्। यसले प्रतियोगितालाई थप व्यवस्थित, निष्पक्ष र प्रतिस्पर्धात्मक बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ।
प्रतियोगिताका सहभागी खेलाडीहरूको सुरक्षालाई ध्यानमा राख्दै रु. ५ लाख बराबरको स्वास्थ्य बीमाको व्यवस्था समेत गरिएको छ। खेलका क्रममा हुन सक्ने सम्भावित दुर्घटना तथा चोटपटकलाई मध्यनजर गर्दै खेलाडीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा ‘फेयर प्ले अवार्ड’लाई विशेष आकर्षणका रूपमा राखिएको छ। विराटनगरमा अन्तरविद्यालय क्रीकशल प्रतियोगितामा पहिलोपटक फेयर प्ले अवार्ड ट्रफी प्रदान गर्न लागिएको आयोजकको दाबी छ।
त्यस्तै, प्रतियोगिताको बेस्ट प्लेयरलाई ट्रफीसहित क्रिकेट एकेडेमीमा तीन महिनाको शतप्रतिशत छात्रवृत्ति र रु. १ हजार बराबरको भौचर प्रदान गरिनेछ। बेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई पनि ट्रफीसहित क्रिकेट एकेडेमीमा एक महिनाको शतप्रतिशत छात्रवृत्ति तथा रु. १ हजार बराबरको भौचर प्रदान गरिने आयोजकले जनाएको छ।
प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द म्याच’ घोषित गरी मेडलसहित क्रिकेट एकेडेमीको भर्ना शुल्कमा ५० प्रतिशत छुट र रु. ५०० बराबरको भौचर प्रदान गरिनेछ। प्रतियोगितामा उत्कृष्ट सम्भावना देखाउने उदयमान खेलाडीलाई समेत विशेष ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी खेलाडी तथा सम्बन्धित व्यक्तिहरूका लागि खाजाको समेत व्यवस्था गरिएको विराट स्पोर्ट्स जोनका प्रोजेक्ट म्यानेजर राज ढकालले जानकारी दिए।
प्रतियोगिता सञ्चालनका लागि रु. २ लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको छ। पहिलो संस्करणमै प्रतियोगितालाई व्यवस्थित, प्रतिस्पर्धात्मक र उच्चस्तरीय बनाउन आवश्यक तयारी पूरा गरिएको आयोजकको भनाइ छ।
विराट स्पोर्ट्स जोनका अध्यक्ष हरि बजगाईँले स्थापनाको पहिलो वर्षमै खेलकुद क्षेत्रमा प्रभावकारी काम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। विद्यालयस्तरबाटै प्रतिभाशाली खेलाडी पहिचान गरी उनीहरूलाई प्रशिक्षण र आवश्यक अवसर उपलब्ध गराउनु संस्थाको मुख्य उद्देश्य रहेको उनको भनाइ छ।
“विद्यालयस्तरबाट प्रतिभाशाली खेलाडी पहिचान गरी उनीहरूलाई प्रशिक्षण र अवसर उपलब्ध गराउनु हाम्रो मुख्य लक्ष्य हो। क्रीकशल प्रतियोगिता त्यसै अभियानको सुरुवात हो,” बजगाईँले भने।
आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यापक बनाउँदै विराटनगरलाई खेलकुद गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने योजना रहेको उनले बताए।
आयोजकका अनुसार प्रतियोगिताले विद्यालयस्तरमा खेल संस्कृतिको विकास गर्नुका साथै स्वस्थ प्रतिस्पर्धाको प्रवर्द्धन र नयाँ पुस्तामा खेलप्रतिको आकर्षण बढाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
