विराटनगर | नेपाल एलपी ग्यास उद्योग सङ्घले बजारमा ग्यासको आपूर्ति सहज रहेकाले आवश्यकताभन्दा बढी सिलिण्डर सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेको छ।
भारतबाट एलपी ग्यासको आयात सहज रूपमा भइरहेको तथा उद्योगहरूले सिलिण्डर रिफिलिङ गरी नियमित रूपमा बजारमा पठाइरहेकाले अनावश्यक रूपमा ग्यास खरिद गरी सञ्चय नगर्न सङ्घले आग्रह गरेको हो।
सङ्घका अध्यक्ष दिवानबहादुर चन्दले आज जारी गर्नुभएको विज्ञप्तिमा उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगरेमा अहिले देखिएको अभावको समस्या तत्काल समाधान हुने उल्लेख छ। आगामी दिनमा समेत ग्यास आपूर्तिमा समस्या नहुने भएकाले बजारमा ग्यासको अभाव हुने अवस्था नरहेको उहाँले बताउनुभएको छ।
नेपाल आयल निगमको पहलमा भारतका विभिन्न रिफाइनरीबाट एलपी ग्यासको आयात भइरहेको र पछिल्लो समय आयात करिब १५ प्रतिशतले वृद्धि भएको निगमले जनाएको छ। निगमका अनुसार पछिल्लो २२ दिनमा ३९ हजार ७७४ मेट्रिक टन एलपी ग्यास आयात भएको छ।
चालु आर्थिक वर्षको साउन महिनामा करिब ५५ हजार मेट्रिक टन ग्यास आयात हुने अनुमान गरिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४४ हजार ३१८ मेट्रिक टन ग्यास आयात भएको थियो।
बजारको मागअनुसार ग्यास उपलब्ध गराउन उद्योगहरूले निरन्तर प्रयास गरिरहेको जनाउँदै सङ्घले बिक्रेतालाई घरायसी प्रयोगकर्तालाई प्राथमिकतामा राखेर ग्यास बिक्रीवितरण गर्नसमेत आग्रह गरेको छ।
