नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशले उद्योगी तथा परिसंघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाको निवास र कार्यालयमा प्रहरीले गरेको खानतलासीप्रति गम्भीर असन्तुष्टि जनाएको छ। सोमबार विज्ञप्ति जारी गर्दै परिसंघले बिहानै ठूलो संख्यामा प्रहरी परिचालन गरी करिब साढे पाँच घण्टासम्म गरिएको खानतलासीले उद्योगी व्यवसायीमा त्रास र अन्योल सिर्जना गरेको जनाएको हो।
परिसंघका अध्यक्ष पवनकुमार सारडाद्वारा जारी विज्ञप्तिमा अनुसन्धानका क्रममा नागरिकको मौलिक हक, गोपनीयता र मानवीय मर्यादाको पूर्ण सम्मान हुनुपर्ने उल्लेख गरिएको छ। बिहानै घर घेराउ गरी परिवारका सदस्य तथा ज्येष्ठ नागरिकलाई मानसिक दबाबमा राखिएको भन्दै यस्तो शैलीले निजी क्षेत्रको मनोबल कमजोर बनाउने दाबी गरिएको छ।
परिसंघले प्रहरीले कुन कानुनी आधार र सूचनाका आधारमा खानतलासी गरेको हो तथा त्यसबाट के–कस्ता वस्तु वा प्रमाण फेला परेका हुन् भन्ने विषयमा सरकारसँग स्पष्ट जानकारी सार्वजनिक गर्न माग गरेको छ।
विज्ञप्तिमा मुलुक आर्थिक मन्दी र लगानी संकुचनको अवस्थाबाट गुज्रिरहेका बेला उद्योगी व्यवसायीलाई त्रसित बनाउने गतिविधिले स्वदेशी तथा विदेशी लगानी प्रभावित हुने चेतावनी दिइएको छ। निजी क्षेत्रलाई राष्ट्र निर्माणको महत्वपूर्ण साझेदारका रूपमा सम्मान गर्न आग्रह गर्दै परिसंघले अनुसन्धानका नाममा लगानीकर्ताको आत्मसम्मानमा आँच पुग्ने कार्य स्वीकार्य नहुने स्पष्ट पारेको छ।
साथै, विधिको शासन र कानुनी प्रक्रियाप्रति आफ्नो पूर्ण प्रतिबद्धता रहेको उल्लेख गर्दै परिसंघले यस्ता घटनाबाट लगानीको वातावरणमा नकारात्मक असर पर्ने भएकाले सरकारले आवश्यक स्पष्टता र संवेदनशीलता अपनाउनुपर्ने माग गरेको छ।
