विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशको आयोजनामा राष्ट्रिय स्तरको वुमन लिडरसिप समिट २०२६ आगामी वैशाख २१ गते विराटनगरमा हुने भएको छ। कार्यक्रम कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका तथा नेपाल उद्योग परिसंघको सहकार्यमा आयोजना हुन लागेको हो।
सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। कार्यक्रममा आर्थिक, औद्योगिक, बैंकिङ, राजनीतिक तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ।
‘दिगो समृद्धितर्फ : कृषि, सीप, सिर्जनशीलता र डिजिटल नवप्रवर्तन’ मुख्य विषय रहेको सम्मेलनमा महिला नेतृत्व विकास, स्थानीय कृषि प्रवर्द्धन, सीप विकास, नवप्रवर्तन, उद्यमशीलता विस्तार तथा सफल व्यवसायिक उदाहरणबारे छलफल गरिनेछ।
त्यसैगरी महिला उद्यमीहरूले उत्पादन गरेका स्वदेशी वस्तुको प्रदर्शनी, डिजिटल नवप्रवर्तनसम्बन्धी विशेष सत्र, उद्यमी र नीति निर्माताबीच अन्तरक्रिया तथा नेटवर्किङ कार्यक्रम पनि रहने आयोजकले जनाएको छ।
आयोजकका अनुसार सम्मेलनले कोशी प्रदेशसहित देशभरका महिला उद्यमी, वित्तीय संस्था, उद्योगी व्यवसायी, नीति निर्माता र विकास साझेदारलाई एकै थलोमा ल्याई समावेशी आर्थिक वृद्धि र दिगो समृद्धिको मार्ग तय गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।
कार्यक्रम विराटनगरस्थित होटल मनास्लु इनमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।
सम्मेलन संयोजक गिरिजा सारडाले कार्यक्रम भव्य रूपमा सम्पन्न हुने बताइन्। महिला उद्यम समिति संयोजक रचना राठीले कार्यक्रमको तयारी शुरु भईसकेको जानकारी दिएकी छिन् । यसबारे जानकारी दिन बिहीबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।
