विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई आज स्वागत गरिएको छ ।
विराटनगरको गोग्राहा चोक स्थित कन्चनजङ्घा बैंक्वेटमा आयोजित स्वागत समारोहमा कक्षा १२ का विद्यार्थीले विभिन्न कार्यक्रम गर्दै नयाँ विद्यार्थीलाई स्वागत गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका निवर्तमान उपकुलपति प्रा. डा. बिजुकुमार थपलीयाले विद्यार्थीहरुको आफ्नै मेहनतले सफलता प्राप्ति हुने बताउनुभयो । विद्यालयले उत्कृष्ट शैक्षिक वातावरण बनाउने सम्म हो भन्दै उहाँले त्यहाँबाट कति ज्ञान लिने भन्ने विद्यार्थीमा भर पर्ने बताउनुभयो ।
‘तिर्खाएको ब्यक्तिलाई कुवा सम्म लगिदिने हो, कति खाने वा नखाने उसैमा निर्भर हुन्छ’, प्रा.डा. थपलीयाले भन्नुभयो,‘ आफूलाई कस्तो बनाउने भन्ने विद्यार्थीमा निर्भर हुने बताउनुभयो । एभरेष्टले उत्कृष्ट शैक्षिक वातावरण बनाएको भन्दै उहाँले विद्यार्थीहरुलाई त्यसको अधिकतम सदुपयोग गर्न समेत सुझाव दिनुभयो । उहाँले पछिल्लो समय समाजिक सञ्जाल र अल्गोरिदमले युवापुस्तालाई अल्मलाईरहेको चर्चा गर्दै उहाँले क्षणिक लोकप्रियताको पछि नलागी युगौंयुग लोकप्रिय कसरी बन्न सकिन्छ भन्नेमा ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले विद्यार्थीको शैक्षिक तथा सर्वाङ्गिण विकासका लागि प्रशासनिक वा व्यवस्थापकीय दृष्टिकोणबाट कुनै कमि हुन नदिने भन्दै हाम्रा विद्यार्थी पनि सोहि अनुसार अब्बल होउन भन्ने आशा रहेको बताउनुभयो ।
विगतका नतिजाहरुले पनि एभरेष्टका विद्यार्थी अब्बल रहेको पुष्टि गरिसकेको भन्दै उहाँले अहिलेका विद्यार्थीहरुले पनि प्रमाणित गर्ने विश्वास ब्यक्त गर्नुभयो । प्रिन्सिपल पुरीले अहिले कुनै एक विद्यालय, एक शहर वा एउटा देशका विद्यार्थीबिचको प्रतिष्पर्धा नभएर विश्वभरका विद्यार्थीहरुबिचको प्रतिष्पर्धाको युग रहेको चर्चा गर्दै विद्यार्थीले पनि सोहि अनुसार आफूलाई तयार गर्नुपर्ने सुझाव दिनुभयो ।
‘हामीले हाम्रा विद्यार्थीले विश्वसँग प्रतिष्पर्धा गर्नुपर्छ भनेर नै सोहि अनुसारको वातावरण बनाएका छौं,‘ उहाँले भन्नुभयो, ‘डिजी स्कुल, एआईको अध्यापन तथा अन्तर्राष्ट्रिय प्ल्याटफर्मको सहभागिताहरु त्यसका उदाहरण हुन् ।’
प्रिन्सिपल पुरीले अहिलेको जमाना सूचना प्रविधि र ए आईको जमाना रहेको भन्दै एआईको सदुपयोग गर्न सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले शैक्षिक ज्ञानमात्र पर्याप्त नहुने भन्दै सम्बन्धित विषयका अतिरिक्त कुराहरुपनि सिक्न र सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत गाएर , नृत्य प्रस्तुत गरेर र वाद्यवादन बजाएर मनोरञ्जन समेत गरेका छन् । कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष सुदीप कोइराला, विद्यालयका विभागीय प्रमुखहरु, शिक्षक कर्मचारीलगायतको उपस्थिती रहेको थियो ।
यसैबिच विद्यालयमा एक दशक भन्दा बढी समय प्रशासनका क्षेत्रमा काम गर्नुभएका कर्मचारी कृष्णकुमार ठाकुरलाई सम्मान समेत गरिएको छ ।

