विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले विद्यार्थीको सर्वाङ्गीण विकासमा अभिभावकको भूमिकालाई केन्द्रीय मान्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। विद्यालयले अपनाएको शिक्षण पद्धति, शैक्षिक वातावरण तथा बालमैत्री अभ्यासबारे अभिभावकलाई अवगत गराउँदै घरमै पनि समान वातावरण बनाउन आग्रह गरिएको छ।
विद्यालयका प्रिन्सिपल टिकाराम पुरीका अनुसार विद्यालय तथा अभिभावकले गर्ने लगानीको मूल्यांकन बालबालिकाको सर्वाङ्गीण विकासले नै निर्धारण गर्छ। उनले समयसँगै शैक्षिक वातावरण निरन्तर परिवर्तनशील भएकाले अभिभावक पनि त्यहीअनुसार अपडेट हुनु आवश्यक रहेको बताए। शुक्रबार कक्षा ७ र ८ का विद्यार्थीका अभिभावकका लागि आयोजित ‘काउन्सिलिङ’ कार्यक्रममा बोल्दै प्रिन्सिपल पुरीले विद्यालयको ३२ वर्षे यात्रामा एभरेष्टका विद्यार्थीले विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास भएको उल्लेख गरे।
“यसमा अभिभावकको भूमिका उत्तिकै महत्वपूर्ण छ,” उनले भने, “समयको गतिसँगै व्यवहार र अभिप्रेरणामा सुधार ल्याउन यस्ता कार्यक्रमले सहयोग पुर्याउनेछ भन्ने विश्वास छ।”
कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीले एभरेष्टले अपनाइरहेको शिक्षण शैली, काउन्सिलिङ प्रणाली, संस्थागत सहकार्य, शैक्षिक गुणस्तर उकास्न उठाइएका कदम र विद्यार्थीको सर्वाङ्गीण विकासका लागि भइरहेका गतिविधिबारे जानकारी प्रस्तुत गरे।
सहभागी अभिभावकहरूलाई उत्प्रेरक प्रितम पौडेलले प्रेरणादायी भनाइ, व्यवहारिक अभ्यास तथा घरमा कस्तो वातावरण बनाउँदा बालबालिकामा सकारात्मक ऊर्जा पैदा हुन्छ भन्ने विषयमा मार्गदर्शन प्रदान गरे। अभिभावकले घरमा खेल्ने भूमिकाले बालबालिकाको व्यक्तित्व निर्माणमा कसरी प्रभाव पार्छ भन्नेबारे उनले विभिन्न उदाहरणसमेत दिए।
कार्यक्रममा सहभागी अभिभावकहरूले कार्यक्रम निकै उपयोगी र फलदायी भएको प्रतिक्रिया जनाए।
कार्यक्रममा एभरेष्ट कलेजका सह–प्राचार्य टी.एन. भण्डारी, विद्यालयका विभिन्न तहका इन्चार्ज तथा शिक्षक–कर्मचारीहरूको सहभागिता थियो। विद्यालयका अनुसार कक्षा ९ र १० का अभिभावकका लागि कार्यक्रम शनिबार बिहान आयोजित हुनेछ।
