Premier Cables
Premier Steel

अर्थ

कोलकाता-विराटनगर कार्गो रेल सेवा सुरु, भोलि विराटनगर आइपुग्ने

पारवहन लागत घट्ने विश्वास

Hamro Biratnagar News Channel Calendar शनिबार, साउन ०२, २०८३  | बिहान ९:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामान ढुवानीका लागि भारतको कोलकाताबाट नेपालको विराटनगरसम्म सिधा कार्गो रेल सेवा सुरु भएको छ ।

कोलकातास्थित नेपाली महावाणिज्य दूतावासको समन्वयमा शुक्रबारदेखि यो सेवा औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

बिज्ञापन

कोलकाता बन्दरगाहमा आयोजित एक कार्यक्रमका बीच नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेड (कोनकर) का अधिकारीहरूले संयुक्त रूपमा हरियो झन्डा देखाई रेल कार्गोको शुभारम्भ गरेका थिए ।

पहिलो ढुवानीका रूपमा नेपालको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेका ४० वटा (४० फिटका) उच्च क्षमताका कन्टेनर बोकेर रेल विराटनगरका लागि प्रस्थान गरेको छ ।

इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टम (ईसीटीएस) जडान गरिएका यी कन्टेनरहरू भारतीय भन्सार यार्ड जोगबनी हुँदै विराटनगर एकीकृत जाँचचौकी (आईसीपी) पुग्नेछन् । यो सेवा पूर्ण रूपमा सञ्चालनमा आएसँगै अब एकै पटकमा ४५ वटासम्म ४० फिटका कार्गो कन्टेनरहरू रेलमार्फत सिधै विराटनगर पठाउन सकिने महावाणिज्य दूतावासले जनाएको छ ।

यसअघि वीरगन्जमा मात्र उपलब्ध रहेको यो रेल कार्गो सुविधा अब विराटनगरमा समेत विस्तार भएसँगै नियमित रूपमा व्यावसायिक ढुवानीको बाटो खुलेको छ ।

महावाणिज्य दूतावासद्वारा जारी विज्ञप्तिअनुसार सडक मार्गको तुलनामा रेल कार्गो सुरक्षित, भरपर्दो र न्यून लागतको हुनेछ ।

करिब २४ घण्टाभित्रै विराटनगर सामान पुग्ने भएकाले यसबाट बन्दरगाहमा नेपाली आयातकर्ताले बेहोर्नुपर्ने बिलम्ब शुल्क (डेमरेज), कन्टेनर डिटेन्सन चार्ज र सडक ढुवानीको अतिरिक्त भार कम हुनेछ । समग्र व्यापार पारवहन लागत घट्दा नेपाली उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता बलियो हुने र व्यापार सहजीकरणमा ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ ।

भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्ड (सीबीआईसी) ले ४ नोभेम्बर २०२५ मा ईसीटीएस नियमावली, २०१९ मा संशोधन गर्दै कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट विराटनगर भन्सारसम्म रेल कार्गो लैजान पाउने व्यवस्था गरेको थियो ।

सोही निर्णयलाई कार्यान्वयन गराउन महावाणिज्यदूतको निरन्तरको पहलपछि २६ फेब्रुअरी २०२६ मा कोलकाता भन्सारले प्रक्रियागत व्यवस्था मिलाएको थियो, जसको परिणामस्वरूप शुक्रबार पहिलो कार्गो रेल नेपालका लागि हिँडेको हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa