विराटनगर । मोरङ प्रशासनले बिहीबार सीमावर्ती रानी नाकाको गेट नम्बर ३ मा निर्माण गरेको फलामे घेरा (ढाट) तोड्न खोजिएपछि रानी–जोगबनी सीमा क्षेत्रमा तनाव उत्पन्न भएको छ। स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले लाठीचार्ज गरेका छन्।
सीमाबाट नेपाल प्रवेश गर्ने मुख्य सडकको मुखमै फलामको सिक्रीसहितको घेरा निर्माण गरिएको भन्दै चाइना बजारका व्यापारी, सफारी चालक तथा स्थानीयवासीले विरोध जनाएका थिए। विरोधस्वरूप उनीहरूले केही समय नेपाल–भारत आवतजावत हुने मुख्य गेट नै बन्द गरेर प्रदर्शन गरेका थिए।
स्थानीयको भनाइअनुसार सडकको उत्तरतर्फ पहिलेदेखि नै एउटा गेट रहेको अवस्थामा सडककै मुखमा अर्को घेरा निर्माण गरिएकाले व्यापारमा प्रत्यक्ष असर पर्ने र सफारी चालकले यात्रु नपाउने अवस्था सिर्जना हुने भएकाले विरोध गरिएको हो। प्रदर्शनका क्रममा केही व्यक्तिले बिहीबार मात्रै निर्माण गरिएको फलामे घेराको संरचना भत्काएर फालिदिएका थिए।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थितिमै सरकारी सम्पत्तिमा तोडफोड भएको भए पनि तत्काल रोक्न नसकिएको स्थानीयले बताएका छन्।
मुख्य गेट बन्द गरिएपछि केही समय नेपालबाट भारततर्फ जाने तथा भारतबाट नेपालतर्फ आउने सवारीसाधनको आवागमन अवरुद्ध भएको थियो। त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रदर्शनकारीलाई हटाएर मुख्य गेट पुनः सञ्चालनमा ल्याएका थिए।
मुख्य गेट खुलेपछि स्थानीय व्यापारी र सफारी चालकले वर्षौंदेखि रहेको गेट नम्बर ३ को घेरा पनि हटाउन खोजेका थिए। त्यसक्रममा अवस्था तनावपूर्ण बनेपछि स्थिति नियन्त्रणमा लिन लाठीचार्ज गर्नुपरेको प्रहरीले जनाएको छ।
बिहीबार सीमा क्षेत्रमा देखिएको घटनाले सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठाएको छ। सुरक्षा निकायको उपस्थितिमै सीमा नाकाको मुख्य गेट बन्द हुनु र प्रशासनले भन्सार छली नियन्त्रणका लागि निर्माण गरेको संरचनामा तोडफोड हुनु गम्भीर विषयका रूपमा हेरिएको छ। अब सार्वजनिक सम्पत्तिमा तोडफोड गर्ने व्यक्तिमाथि मोरङ प्रशासनले कस्तो कानुनी कारबाही अघि बढाउँछ भन्ने विषय चासोका साथ हेरिएको छ।


