विराटनगर । किसानको मनोबल उच्च राख्दै कृषि पेशाको सम्मान गर्ने उद्देश्यले आज देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव विविध कार्यक्रमका साथ मनाइँदै छ।
विराटनगरमा पनि भव्यताका साथ यो दिवस मनाईंदै छ ।
कृषि तथा सहकारी मन्त्रालयले २०६६ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने परम्परा सुरु गरेको हो। त्यस वर्षको नारा “कृषि भूमिको संरक्षण गरौं, धानको उत्पादन बढाऔं” रहेको थियो।
यस अवसरमा सरकारी निकाय, कृषि सम्बन्धी संघ–संस्था तथा स्थानीय तहहरूले सामूहिक धान रोपाइँ, कृषक सम्मान, कृषि प्रविधि प्रदर्शन र सचेतनामूलक कार्यक्रम आयोजना गरेका छन्। असार १५ लाई नेपाली समाजमा दही–चिउरा खाने दिन का रूपमा पनि विशेष महत्वका साथ मनाइन्छ। खेतमा धान रोपेपछि दही–चिउरा खाने परम्पराले यस दिनलाई अझ उत्साहपूर्ण बनाएको छ।
नेपाल कृषि प्रधान देश भएकाले धानलाई खाद्य सुरक्षाको प्रमुख आधार मानिन्छ। सरकारी तथ्याङ्कअनुसार देशभर करिब १४ लाख हेक्टर जमिनमा धान खेती हुँदै आएको छ। तथापि आधुनिक कृषि प्रविधि, गुणस्तरीय बीउ, पर्याप्त सिँचाइ र यान्त्रिकीकरणको पहुँच अझै सबै किसानसम्म पुग्न नसक्दा उत्पादन अपेक्षाअनुसार बढ्न सकेको छैन। धान दिवसले कृषिप्रति आकर्षण बढाउँदै उत्पादन वृद्धि र किसानको सम्मानमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।


