विराटनगर । विराटनगर–१ स्थित परोपकार घाट क्षेत्रमा मध्यरातमा अश्लील गतिविधि गरेको आरोपमा मोरङ प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
असार ९ गते राति करिब १२:३० बजे घाटमा केही व्यक्तिहरू भेला भई होहल्ला गर्दै अश्लील व्यवहार गरेको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा मोरङका ४४ वर्षीय सुरेन्द्र मणि मण्डल र छबिलाल घिमिरे, सुनसरीका २५ वर्षीय कैलाश ढुंगाना तथा भोजपुरका १८ वर्षीय मनिष काफ्ले रहेका छन्।
घटनास्थलमा शव दाहसंस्कारका लागि बनाइएको चितामा आगो बालिएको अवस्थामा ६ जना युवाहरू देखिएको र तीमध्ये दुईजना बीच धकेलाधकेल तथा विवाद भइरहेको पाइएको प्रहरीले जनाएको छ। त्यसमध्ये एक जना पूर्ण रूपमा नग्न र अर्कोले कम्मरमुनिको मात्र कपडा लगाएको अवस्थामा फेला परेको बताइएको छ।
उनीहरूले अश्लील शब्द प्रयोग गरेको सूचना पाएपछि प्रहरी पुगेको थियो। पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



