विराटनगर । भारतीय चिया बोर्डले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी) का कारण नेपाली चिया भारत निर्यातमा अवरोध भएपछि पूर्वी नेपालका चिया उद्योग गम्भीर संकटमा परेका छन्।
इलामका ५३ वटा अर्थोडक्स चिया उद्योग असार १ गतेदेखि बन्द भइसकेका छन् भने झापाका ३६ वटा चिया उद्योगमा पनि असर पुगेको छ ।
चियाको हरियो पत्ती टिप्ने मुख्य सिजनमै उद्योग बन्द हुँदा करिब ६० देखि ७० हजार श्रमिक तथा तिनका आश्रित परिवार प्रत्यक्ष प्रभावित भएका छन्। उद्योग बन्द भएपछि किसानले बगानमै चिया पत्ती नष्ट गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन्।
चिया मजदुर नेता दीपक तामाङका अनुसार यो चिया टिप्ने प्रमुख सिजन भएकाले उद्योग बन्द हुँदा हजारौं मजदुरको रोजगारी र आम्दानी संकटमा परेको छ।
नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले भारततर्फ निर्यात ठप्प भएपछि उद्योग सञ्चालन गर्न नसकिएको बताए। उनका अनुसार उत्पादन गरिएको चिया लामो समय गोदाममा राख्न सम्भव छैन, किसानबाट खरिद गरिएको हरियो पत्तीको भुक्तानी गर्न पनि चिया बिक्री आवश्यक पर्छ। तर नेपालको प्रमुख बजार भारतमै निर्यात रोकिँदा उद्योग बन्द गर्नु बाध्यता बनेको उनले बताए।
नेपाल चिया उत्पादक सङ्घका महासचिव शुक्र दाहालका अनुसार नेपालमा उत्पादित सिटिसी र अर्थोडक्स चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रुपैयाँको छ, जसमा करिब ५ अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात हुने गरेको छ।
उद्योगीहरूले बङ्गलादेश, पाकिस्तानलगायत तेस्रो मुलुकमा चिया निर्यात विस्तारका लागि सरकारले पहल गर्नुपर्ने माग गरेका छन्। कृषि तथा वन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत समस्या समाधानका लागि कूटनीतिक पहल भइरहेको जनाएको छ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा करिब २८ हजार हेक्टर क्षेत्रफलमा चिया खेती हुँदै आएको छ। वार्षिक २७ मिलियन केजी तयारी चिया उत्पादन हुने नेपालमा करिब १७ हजार साना किसान, १५० ठूला उद्योग तथा सयौं साना-मझौला प्रशोधन उद्योग सञ्चालनमा छन्।
व्यवसायीहरूका अनुसार भारतले गुणस्तर परीक्षणको नाममा पटक–पटक नेपाली चियामा अवरोध गर्दै आएको छ। नेपाली चिया क्षेत्रले वार्षिक करिब १ अर्ब रुपैयाँ राजस्व बुझाउँदै आएको छ भने हजारौं श्रमिकलाई रोजगारी प्रदान गरेको छ।
यसैबीच, उद्योगीहरूले नेपालमा आफ्नै चिया अक्सन (लिलामी) केन्द्र स्थापना हुन नसक्दा भारतीय बजारमाथिको निर्भरता बढेको बताएका छन्। उनीहरूका अनुसार अक्सन प्रणाली सञ्चालन भए अन्तर्राष्ट्रिय खरिदकर्तासम्म नेपाली चिया प्रत्यक्ष पुग्ने र भारतमाथिको निर्भरता घट्ने थियो।


