काठमाडौं । देशभर आज वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी तथा स्थानीय वायुका साथै नेपाल आसपासको तल्लो वायुमण्डलमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण सातै प्रदेशमा मौसम बदली हुने र वर्षा हुने सम्भावना रहेको हो ।
विभागका अनुसार तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्छ । रातिको समयमा कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।
त्यस्तै, कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
दिउँसोको समयमा पनि कोसी, वाग्मती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ । तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । साथै, कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा अन्य हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ ।
