Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी सरकार फेरबदलको चर्चा तीव्र, कांग्रेसभित्रै मुख्यमन्त्रीको रस्साकस्सी

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख ३१, २०८३  | अपराह्न ३:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकार गठन भएको १८ महिना पुग्न लाग्दा सरकार फेरबदलको चर्चा फेरि तीव्र बनेको छ । २०८१ पुस २७ मा गठन भएको एमाले–कांग्रेस गठबन्धन सरकार परिवर्तनको विषय केही दिनयता राजनीतिक वृत्तमा चर्चामा रहे पनि यसको निश्चित मिति भने तय हुन सकेको छैन ।

नेपाली कांग्रेस बजेट प्रस्तुत हुनुअघि नै सरकार परिवर्तन गर्नुपर्ने पक्षमा देखिएको छ भने एमालेले यस विषयमा स्पष्ट निर्णय नगरी समय लम्ब्याइरहेको स्रोतको दाबी छ ।

बिज्ञापन

कांग्रेसका कोशी प्रदेशसभा सदस्य तथा अर्थ समितिका सभापति विनोद वान्तवा राई ले सरकार फेरबदलको विषय केन्द्रमा छलफल भइरहे पनि आफूलाई औपचारिक जानकारी नभएको बताए । उनले यस्तो विषय केन्द्र तहबाटै तय हुने प्रतिक्रिया दिएका छन् ।

उता कांग्रेस सांसद तथा पूर्वमन्त्री हिमाल कार्की ले सरकार परिवर्तन गर्ने हो भने बजेटअघि नै गर्नुपर्ने बताएका छन् । अहिलेको सरकारले बजेट ल्याएपछि सरकार परिवर्तन गर्नुको औचित्य नरहने उनको भनाइ छ । उनले यही संसद्बाट बन्ने सरकारको यो अन्तिम बजेट हुनसक्ने भएकाले समयमै निर्णय हुनुपर्ने धारणा राखेका छन् ।

सरकार परिवर्तनको विषयमा कांग्रेसभित्र मोटामोटी सहमति देखिए पनि नयाँ मुख्यमन्त्री को बन्ने भन्ने विषयमा भने विवाद चर्किएको बताइन्छ । कांग्रेसकै नेताहरूका अनुसार आन्तरिक गुटबन्दीले सरकार परिवर्तनको प्रक्रिया जटिल बनाइरहेको छ ।

गत मंगलबार विराटनगरमा कांग्रेसको विशेष महाधिवेशन इतर पक्षको भेला भएको थियो । उक्त भेलामा दलका नेता तथा प्रदेश सभापति उद्धव थापा सहभागी भएका थिएनन् । उनी पछिल्लो समय समूह परिवर्तन गरी विश्वप्रकाश शर्मा निकट बनेको चर्चा पनि कांग्रेसभित्र चलिरहेको छ ।

स्रोतका अनुसार विशेष महाधिवेशन पक्षका नेता केदार कार्की, भुपेन्द्र राई र भीम पराजुली लगायत नेताहरूले उद्धव थापालाई संसदीय दलको नेताबाट हटाउने तयारी गरिरहेका छन् ।

यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओली वामपन्थी एकताको पक्षमा सक्रिय भएको दाबी गरिएको छ । स्रोतका अनुसार विभिन्न माध्यमबाट पुष्पकमल दाहाल समक्ष प्रदेशहरूमा वामपन्थी सरकार गठनको प्रस्ताव पठाइएको छ ।

तर प्रचण्डले भने केवल वामपन्थी दलको सरकारभन्दा पनि शान्ति प्रक्रिया र संविधान निर्माणमा भूमिका खेलेका दलहरूको संयुक्त सरकार आवश्यक रहेको धारणा राखेको स्रोतको भनाइ छ । एमालेभित्रकै ओलीइतर समूह भने हाल कायम कांग्रेस–एमाले गठबन्धन निरन्तरता दिनुपर्ने पक्षमा रहेको बताइएको छ ।

हाल ९३ सदस्यीय कोशी प्रदेशसभामा ९२ जना सांसद कायम छन् । एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, नेकपाका १७, राप्रपाका सभामुखसहित ५ तथा जसपाका १ सांसद रहेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka