काठमाडौं । हालसम्म ५८ जना सांसदले आफ्नो सम्पत्ति विवरण बुझाएका छन् । उनीहरूले संघीय संसद् सचिवालयअन्तर्गतको सांसद सुविधा शाखामा विवरण पेस गरेका हुन् ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५०(१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१(क)(१) अनुसार सार्वजनिक पद धारण गर्ने व्यक्तिले अनिवार्य रूपमा आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ ।
कानुनी व्यवस्थाअनुसार सार्वजनिक पदमा नियुक्त भएको मितिले ६० दिनभित्र आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्तिको स्रोतसहित अद्यावधिक विवरण सम्बन्धित निकायमा पेस गर्नुपर्छ ।
यसैलाई ध्यानमा राख्दै संघीय संसद् सचिवालयको सांसद सुविधा शाखाले यसअघि नै सूचना जारी गर्दै सांसदहरूलाई समयमै सम्पत्ति विवरण बुझाउन आग्रह गरेको थियो । सोही अनुसार प्रतिनिधिसभाका सदस्यहरूले आगामी जेठ १० गतेभित्र सम्पत्ति विवरण बुझाइसक्नुपर्नेछ ।
संघीय संसद्मा २७५ सदस्यीय प्रतिनिधिसभा र ५९ सदस्यीय राष्ट्रियसभा रहेका छन् ।
