Premier Cables
Premier Steel

राजनीति

सङ्घीय संसद्को बजेट अधिवेशन: सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख २८, २०८३  | बिहान १०:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिन नै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरिका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपति पौडेलले अपराह्न ४ बजे नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछन् ।

बिज्ञापन

संविधानअनुसार प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो अधिवेशन तथा प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुपर्ने व्यवस्था रहेको छ ।

राष्ट्रपतिको सम्बोधनका लागि बोलाइएको संयुक्त बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई अपराह्न ३ः४५ बजेअघि नै उपस्थित हुन संसद् सचिवालयले अनुरोध गरेको छ । संयुक्त बैठकअघि प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक अपराह्न २ बजे बस्ने कार्यसूची छ ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा बैठकमा सुरुमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्र पढेर सुनाइनेछ । त्यसपछि मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई जानकारी गराइने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा सभामुख अनुपस्थित रहेमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गरिनेछ । साथै प्रतिनिधिसभा नियमावली, २०७९ अन्तर्गत जारी गरिएको बाधा अड्काउ फुकाउसम्बन्धी व्यवस्था अनुमोदनका लागि पेस गरिने तयारी छ । प्रतिनिधिसभा नियमावलीको मस्यौदा पनि बैठकमा प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ ।

यस अधिवेशनमा सरकारले जारी गरेका विभिन्न आठ वटा अध्यादेश पनि संसद्मा पेस हुने भएका छन् । सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश तथा संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन अध्यादेशलगायतका अध्यादेश प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनमा पेस गरिने कार्यसूची रहेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka