न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले हालसम्म ९ वटा अन्तर्राष्ट्रिय द्वन्द्व समाधान गराउन भूमिका खेलेको दाबी गर्दै अब रुस–युक्रेन युद्ध रोक्न पहल थालेको बताएका छन्। उनका अनुसार यो प्रयास सफल भए उक्त युद्ध उनको “१०औँ शान्ति पहल” बन्नेछ।
ह्वाइट हाउसबाट भर्जिनिया जानुअघि ट्रम्पले रुस–युक्रेन युद्ध दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खतरनाक द्वन्द्व बनेको उल्लेख गर्दै हरेक महिना हजारौँ सैनिक मारिइरहेको बताएका हुन्।
समाचार एजेन्सी एएनआईका अनुसार, ट्रम्पले सामाजिक सञ्जालमार्फत मे ९ देखि ११ सम्म रुस र युक्रेनबीच ३ दिने युद्धविराम हुने जानकारी दिएका छन्। उनका अनुसार उक्त अवधिमा दुवै देशले कुनै पनि सैन्य गतिविधि गर्ने छैनन्। साथै, दुवै पक्षबीच एक–एक हजार युद्धबन्दीको आदानप्रदान पनि हुनेछ।
ट्रम्पका अनुसार, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उनको आग्रहपछि युद्धविराममा सहमति जनाएका हुन्। उनले अवस्था सकारात्मक रहे अस्थायी युद्धविरामको अवधि थप लम्ब्याउन सकिने पनि बताएका छन्।
