Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

इरान आक्रमणबाट पछि हटे ट्रम्प

Calendar शुक्रबार, माघ ०२, २०८२  | बिहान ८:३७ बजे

काठमाडौं । अमेरिका र इरानबीच बढ्दो तनाव कम गर्न चार अरब देशले यस हप्ता सक्रिय कूटनीतिक पहल गरेका छन् ।

एक खाडी मुलुकका अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले बिहीबार यो जानकारी दिएको हो ।

बिज्ञापन

अमेरिकाले इरानमाथि सैन्य आक्रमण गर्न सक्ने र त्यसले समग्र मध्यपूर्व क्षेत्रमा गम्भीर असर पार्न सक्ने आशंका ती देशहरूलाई थियो । यही चिन्ताका बीच साउदी अरब, कतार, ओमान र इजिप्टले अमेरिका र इरान दुवै पक्षसँग करिब ४८ घण्टासम्म निरन्तर संवाद गरेका थिए ।

यस कूटनीतिक पहलपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार तत्कालका लागि इरानमाथि आक्रमण नगर्ने संकेत दिएका छन् । उनले इरानमा हिंसाका घटनाहरू केही घटेको दाबी पनि गरेका छन् ।

अधिकारीहरूका अनुसार ती चार देशले अमेरिकालाई इरानमाथि आक्रमण भएमा त्यसको गम्भीर सुरक्षा र आर्थिक परिणाम हुने चेतावनी दिएका थिए । यस्तो कदमले सम्पूर्ण क्षेत्र अस्थिर बन्ने र अन्ततः अमेरिका स्वयं पनि प्रभावित हुने उनीहरूको भनाइ थियो ।

त्यस्तै, इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी नियोग र अन्य कार्यालयहरूमा प्रतिकारात्मक हमला गरेमा त्यसले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्बन्धमा थप तनाव सिर्जना गर्न सक्ने चेतावनी पनि दिइएको थियो ।

यद्यपि साउदी अरब, कतार, ओमान र इजिप्टका सरकारी प्रवक्ताहरूले यस विषयमा सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । संयुक्त अरब इमिरेट्स भने यो कूटनीतिक प्रयासमा संलग्न थिएन ।

‘वाल स्ट्रिट जर्नल’का अनुसार साउदी अरब, कतार र ओमानले अमेरिकासँग इरानमाथि आक्रमण नगर्न आग्रह गरेका थिए । एक अधिकारीका अनुसार, यस पहलको मुख्य उद्देश्य युद्धसम्बन्धी बयानबाजी कम गर्नु र सैन्य कारबाहीबाट जोगिनु थियो, जसले क्षेत्रीय अस्थिरता फैलाउन सक्थ्यो । यसले इरानको परमाणु कार्यक्रमबारे पुनः वार्ताको वातावरण तयार हुन सक्ने अपेक्षा गरिएको छ ।

ओमान र कतारले यसअघि पनि इरान र पश्चिमा देशहरूबीच मध्यस्थकर्ताको भूमिका खेलेका छन् । साउदी अरब र इजिप्टको इरानसँग लामो समयदेखि तनावपूर्ण सम्बन्ध रहे पनि सन् २०२३ मा साउदी अरब र इरान सम्बन्ध सुधारमा सहमत भएका थिए । साउदी अरब हाल आफ्ना आर्थिक योजनामा केन्द्रित रहन चाहन्छ ।

खाडी देशहरूको मुख्य चिन्ता
तनाव बढेमा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडा तथा तेल–ग्यास पूर्वाधार निशानामा पर्न सक्ने विषय खाडी देशहरूको प्रमुख चिन्ता हो ।

ट्रम्प प्रशासनसँग साउदी अरब र कतारको सम्बन्ध तुलनात्मक रूपमा राम्रो मानिन्छ ।

यसैबीच, इरानले नागरिक उडानका लागि आफ्नो हवाई क्षेत्र पुनः खोलेको छ । यससँगै त्यहाँ फसेका भारतीय विद्यार्थीको उद्धार प्रक्रिया तीव्र भएको छ । तेहरानबाट दिल्लीका लागि पहिलो उद्धार उडान शुक्रबार हुने जनाइएको छ ।

ट्रम्पको चेतावनीपछि फाँसी स्थगित
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटका अनुसार राष्ट्रपति ट्रम्पलाई इरानले करिब ८०० जनाको फाँसीको सजाय रोकिएको जानकारी प्राप्त भएको छ । उनले ट्रम्पले स्थिति नजिकबाट निगरानी गरिरहेको र सबै विकल्प खुला रहेको पनि बताएकी छन् ।

चार खाडी देशको कूटनीतिक पहलपछि ट्रम्पले तत्काल आक्रमण नगर्ने संकेत दिएका छन् । इरानले हवाई क्षेत्र पुनः खोल्नु पनि सम्भावित आक्रमण टरेको संकेतका रूपमा हेरिएको छ ।
— रोयटर्स

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka