काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व अब अञ्जन श्रेष्ठको काँधमा पुगेको छ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानअनुसार उनी महासंघको अध्यक्ष बनेका हुन् । महासंघमा अध्यक्षको कार्यकाल तीन वर्षको हुन्छ ।
महासंघको विधानको दफा २९ को उपदफा ३ अनुसार, वरिष्ठ उपाध्यक्ष आगामी एक कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार हालका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ स्वतः अध्यक्ष बनेका हुन् । त्यसपछि महासंघ अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने व्यवस्था रहेको छ ।
महासंघ कार्यकारिणी समितिका अध्यक्षबाहेकका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन मंगलबार सम्पन्न भएको थियो । निर्वाचनको अन्तिम नतिजा समेत सार्वजनिक भइसकेको छ ।
वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष हुने परम्पराअनुसार श्रेष्ठ महासंघको नेतृत्व सम्हाल्ने चौथो व्यक्ति बनेका छन् । यसअघि भवानी राणा, शेखर गोल्छा र चन्द्रप्रसाद ढकाल पनि यही प्रक्रियाबाट अध्यक्ष बनेका थिए ।
बुधबारदेखि अध्यक्षको जिम्मेवारी सम्हालेका श्रेष्ठ लक्ष्मी समूहका कार्यकारी निर्देशक हुन् । उनले अटोमोबाइल, सेवा, पर्यटन तथा उत्पादनमूलक क्षेत्रलगायतमा लगानी विस्तार गरेका छन् ।
श्रेष्ठ २०५९ सालमा महासंघको कार्यसमिति सदस्यका रूपमा प्रवेश गरेका थिए । विभिन्न समितिमा काम गर्दै अनुभव बटुलेका उनी महासंघको ५७औँ साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए । उनी २०४५ सालदेखि पारिवारिक व्यवसायमा सक्रिय छन् ।
